Tuesday, January 2, 2018

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् ।

द्रुत गतिमा फैलिन थालेको वनमारा झारलाई मार्न तत्काल आवश्यक उपाय निकाल्नुपर्ने उपभोक्ताले बताएका छन् । वनभित्र रहेका सिसौका रूख समेत सुक्न थालेका छन् ।

वनलाई हराभरा बनाउन वनमारा झारलाई नष्ट गर्नुपर्ने, वनभित्र सुकेका र सुक्न लागेको रूखलाई कटान गरी रोग नलाग्ने बोटबिरुवा रोप्नुपर्ने उनीहरुले बताएका छन् । झापा गाउँपालिकामा १०४ हेकटरमा फैलिएको सो वन २०३९ सालमा स्थापना गरिएको हो । हाल सो वनबाट ९४० घरधुरी लाभान्वित भएका छन् ।

उक्त वनमा तत्कालीन राजा महेन्द्रले शिकार खेली नरभक्षी बाघलाई मारेको र रानीले नुहाएको पोखरीसमेत रहेकाले रानी वन नाम दिइएको रानी सामुदायिक वनका सचिव भगेन्द्र भण्डारी बताउनुहुन्छ । वनमा सिसौ, टिक, सिमल र कदमका रुख रहेका छन् ।

करिब रु २० लाख आम्दानी हुने गरेको सो वनको १० हेक्टर जग्गामा १४ वटा पोखरी निर्माण गरिएको छ । पोखरीमा माछापालन गरिँदै आएको छ । माछापालनबाट सो वनले वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दैआएको छ । रासस

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च

बनियानी। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।

शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाउनुभएको छ ।

एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, काँग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र काँग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गर्नुभएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले रु २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले रु १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । रासस

पटकपटक एकै व्यक्तिलाई सांसद नबनाऊ : वाइसिएल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को सहयाक संगठन वाइसिएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ ।

वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।

बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

वाइसिएलले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा (एमाले)लाई आग्रह गरेको छ ।

वाइसिएलले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ । रोल्पाका शहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसिएलले लत्ता कपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

साथै वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वामगठबन्धन विरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वाइसिएलले जनाएको छ । रासस

गोली लागेर एकको मृत्यु

पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।

मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् । रासस

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ ।रासस

Sunday, December 31, 2017

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ ।
आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न आज निर्देशन दिएको हो ।

निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानूनअनुसार कारबाही हुने आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिकतर्फका उम्मेदवारको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दफा ३१ को उपदफा (४) बमोजिम त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले रु १५ हजार जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने छ ।

आदेशअनुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे रु १५ हजार जरिवाना गर्न सक्ने उल्लेख छ ।
आयोगले आजै निर्वाचनको क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्री तत्काल हटाउन सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनको प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्री हटाई ती स्थानलाई पूर्ववत् अवस्थामा राख्न सम्बन्धित राजनीतिक दललाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

Saturday, December 30, 2017

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ ।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गर्नुभयो ।

अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”

उहाँले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भन्नुभयो । “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उहाँले भन्नुभयो ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उहाँको भनाइ थियो । सबैलाई मिलाएर देशलाई समुन्नतिको मार्गमा लैजाने भन्दा आफू र आफ्नो पार्टीको अरु कुनै लक्ष्य र उद्देश्य नरहेको उहाँको भनाइ थियो ।
टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिनुभयो ।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts