Tuesday, January 2, 2018

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् ।

द्रुत गतिमा फैलिन थालेको वनमारा झारलाई मार्न तत्काल आवश्यक उपाय निकाल्नुपर्ने उपभोक्ताले बताएका छन् । वनभित्र रहेका सिसौका रूख समेत सुक्न थालेका छन् ।

वनलाई हराभरा बनाउन वनमारा झारलाई नष्ट गर्नुपर्ने, वनभित्र सुकेका र सुक्न लागेको रूखलाई कटान गरी रोग नलाग्ने बोटबिरुवा रोप्नुपर्ने उनीहरुले बताएका छन् । झापा गाउँपालिकामा १०४ हेकटरमा फैलिएको सो वन २०३९ सालमा स्थापना गरिएको हो । हाल सो वनबाट ९४० घरधुरी लाभान्वित भएका छन् ।

उक्त वनमा तत्कालीन राजा महेन्द्रले शिकार खेली नरभक्षी बाघलाई मारेको र रानीले नुहाएको पोखरीसमेत रहेकाले रानी वन नाम दिइएको रानी सामुदायिक वनका सचिव भगेन्द्र भण्डारी बताउनुहुन्छ । वनमा सिसौ, टिक, सिमल र कदमका रुख रहेका छन् ।

करिब रु २० लाख आम्दानी हुने गरेको सो वनको १० हेक्टर जग्गामा १४ वटा पोखरी निर्माण गरिएको छ । पोखरीमा माछापालन गरिँदै आएको छ । माछापालनबाट सो वनले वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दैआएको छ । रासस

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च

बनियानी। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।

शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाउनुभएको छ ।

एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, काँग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र काँग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गर्नुभएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले रु २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले रु १५ लाखसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । रासस

पटकपटक एकै व्यक्तिलाई सांसद नबनाऊ : वाइसिएल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को सहयाक संगठन वाइसिएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ ।

वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।

बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

वाइसिएलले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा (एमाले)लाई आग्रह गरेको छ ।

वाइसिएलले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ । रोल्पाका शहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसिएलले लत्ता कपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

साथै वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वामगठबन्धन विरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वाइसिएलले जनाएको छ । रासस

गोली लागेर एकको मृत्यु

पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।

मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् । रासस

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ ।रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts