Wednesday, October 28, 2015

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौँ ११ कातिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ ।

राष्ट्रपतिका लागि आज भएको निर्वाचनमा भण्डारीले ३२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व महामन्त्री कूलबहादुर गुरुङले २१४ मत प्राप्त गर्नुभयो ।

सत्तारुढ गठबन्धनको समर्थनमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति हुनुभएको छ ।

मतगणना कार्य सकिएपछि बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपधारा (३) बमोजिम तथा संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा ३७ को उपदफा (१) बमोजिम भण्डारी विजयी भएको घोषणा गर्नुभयो ।

सभामुख घर्तीले राष्ट्रपतिमा निर्वाचित भएकामा संसद् र आफ्नो तर्फबाट भण्डारीलाई बधाई तथा शुभकामना दिनुभयो ।

गत असोज ३ गते संविधानसभाबाट जारी भएको नयाँ संविधानबमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । उपराष्ट्रपतिको निर्वाचन यही कात्तिक १४ गते हुनेछ ।

नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो भने त्यसपछि गरिएको गणनाको परिणाम बैठक अघि सभामुखलाई हस्तान्तरण गरिएको थियो ।

संसद्मा हाल कायम रहेका ५९७ सांसदमध्ये मतदानमा ५४९ ले मतदानमा भाग लिनुभएको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३५ सांसदले निर्वाचनमा भाग लिएका थिएनन् । केही सांसद अनुस्थित भए भने ८ मत बदर भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts