काठमाडौँ, ७ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वरिष्ठ स्रष्टा तथा साझा प्रकाशनका पदाधिकारीले भाषा–साहित्यको श्रीवृद्धिका लागि सो संस्थालाई आर्थिक रुपले बलियो बनाईदिन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई ‘साझा प्रकाशन बचाऊ अभियान’ अन्तर्गत वरिष्ठ साहित्यकारले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी एक शताब्दी इतिहास बोकेको प्रकाशन आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको अवगत गराउनुभयो ।
राष्ट्रपति भण्डारीले मुलुकको भाषा, साहित्य, कला र संस्कृतिले सबैलाई एकताको सूत्रमा बाँध्ने र भावनात्मकरुपमा जोड्ने भएकाले यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै प्रकाशनको अवस्था सुधारमा आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘‘वर्तमान समयमा मुलुकलाई एकताको सूत्रमा बाँध्ने, मेलमिलाप गराउने र मानिसका मूल्यवान् भावनाबाहिर ल्याउने काम साहित्यले गर्छ । यसको जगेर्ना र संवद्र्धनमा सरकार र सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ ।’’
राष्ट्रपति भण्डारीले मिथिलाका राजा जनककी छोरी सीताले अयोध्याका तत्कालीन राजा दशरथका छोरा रामचन्द्रसँग विवाह गरेका जस्ता प्राचीन सन्दर्भलाई भानुभक्तको रामायणले गाउँगाउँका महिला समेतलाई कण्ठाग्र गराएको उल्लेख गर्दै साहित्यले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।
बिनाविभागीय मन्त्री तथा साहित्यकार शान्ता मानवीले साझा प्रकाशनको व्यवस्थापनले काम गर्न खोज्ने तर काम गर्न नदिने अर्का थरिका प्रवृत्ति भएकाले संस्था ओरालो लागेको बताउनुभयो ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले हाल शिक्षा मन्त्रालयको मातहतमा रहेको संस्थामा विगत आठ वर्षदेखि हुन नसकेको साधारणसभा गराउन खोज्दा कानुनी अन्योल र अन्य अवरोध सिर्जना गरिएको दुःखेसो व्यक्त गर्नुभयो ।
वरिष्ठ साहित्यकार वैरागी काइँलाले स्रष्टाको दुमोबाट स्थापित नेपालको पहिलो प्रकाशन संस्थामा अहिले कर्मचारीको पेट खाली राख्ने अवस्थामा पुग्नु दुःखद भएकाले सरकारले सोच्नुपर्ने बताउनुभयो ।
पूर्वशिक्षामन्त्री तथा प्रकाशनका सञ्चालक समितिका सदस्य प्रदीप नेपालले सरकारले या आफ्नो सेयर बढाएर या सरल ऋण दिएर तथा पाठ्यपुस्तक बिक्री वितरणको एकल जिम्मेवारी दिएर संस्था बचाउनुपर्नेमा जोड दिनुभयो ।
स्रष्टाको टोलीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार मदनमणि दीक्षित, डा वासुदेव त्रिपाठी, प्रकाशनका सञ्चालक समितिका सदस्य तथा पूर्वमन्त्रीद्वय नेपाल र दीनानाथ शर्मा, डा मोदनाथ प्रश्रित, गीता केसरी, माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, डा कृष्णहरि बराल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, श्रीओम श्रेष्ठ ‘रोदन’, यशोदा अधिकारीलगायत हुनुहुन्थ्यो ।
विसं १९७० मा ‘गोर्खा भाषा प्रकाशनी समिति’ हुँदै सो संस्था हाल साझा प्रकाशकमा रुपान्तरण भएको हो । यसमा एक हजार पाँच सय साहित्यकार सेयर सदस्य छन् । रासस
No comments:
Post a Comment