काठमाडौँ, १ मङ्सिर । मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले त्यसप्रति इमान्दार हुन सरकारले आग्रह गरेको छ ।
चौथो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले आन्तरिक स्रोत जुटाएर कल्याणकारी कार्यमा राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । कर दिवसको उद्घाटनपछि अर्थमन्त्री विष्णु पौडेलले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले कर्तव्यनिष्ठ भएर नागरिकको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “करको विकल्प छैन, हुँदैन, हामी तपाईहरुले तिरेको करको सदुपयोग हुने विश्वास दिलाउँछौँ ।”
राजनीतिक मतभेद अन्त्य हुँदै गएकाले मुलुक समृद्धिको बाटोमा लाग्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले कर छलीलाई निरुत्साहित, राजस्व परिचालन र भन्सार मूल्याङ्कनलाई सुधार र गुणात्मक करदातालाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुनुभयो । विद्यमान समस्याबाट खुट्टा कमाएर किनारा लाग्न नसकिने भएकाले निजी क्षेत्रलाई उहाँले भन्नुभयो, “अर्थतन्त्रलाई गतिशील बनाएर अगाडि बढौँ, त्यसका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । हामी सङ्कटको अवस्थाबाट मुक्त हुनेछौँ ।”
अर्थमन्त्रालयले विद्यमान अर्थ व्यवस्था र आगामी रणनीतिसहितको स्वेतपत्र जारी गर्ने तयारी गरेको जानकारी दिँदै अर्थमन्त्रीले स्वाभिमान र मर्यादालाई कुन्ठित हुन नदिने स्पष्ट पार्नुभयो । “यो राष्ट्र असफल हुने छैन, सरकारले अर्थतन्त्रलाई असफल हुन दिने छैन” उहाँले भन्नुभयो ।
कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले राजनीतिक स्थायित्व नभएकाले अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसकेको बताउँदै अगामी दिनमा वातावरण सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । सार्वजनिक संस्थाले प्रतिफल दिन नसकेको र बक्यौता राजस्व बढ्दै गई रु ४६ अर्ब पुगेको बताउँदै उहाँले त्यसलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । मुख्य सचिव सुवेदीले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
त्यसैगरी अर्थसचिव सुमनप्रसाद शर्माले मुलुकको आर्थिक स्रोत जुटाउन कर सङ्कलनमा सहयोग पु¥याउनु सबै नागरिकको जिम्मेवारी भएको बताउनुभयो । उहाँले राष्ट्रलाई कर तिर्नु इमान्दार नागरिकको कर्तव्य भएको बताउनुभयो । राजस्व सचिव राजन खनालले कर तिर्नुको विकल्प नभएकाले इमान्दार भएर कर तिर्नुपर्ने र कर प्रणालीलाई समयसापेक्ष सुधार गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्यमान अवस्थाबाट मुक्त गरी देशको आर्थिक अवस्थालाई सही अवस्थामा ल्याउन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा, उपमहानिर्देशक राममणि दुवाडी एवम् पूर्वमहानिर्देशक महेश्वर शर्मा पौडेल, उत्कृष्ट करदाता डा उपेन्द्र देवकोटाले कर तिर्नु सभ्य नागरिकको कर्तव्य भएको बताउनुभएको थियो ।
कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने करदाता मुरारका, उत्कृष्ट करदाता डा देवकोटा, विभागका पूर्वमहानिर्देशकसहित कर दिवसका अवसरमा आयोजित हाजिरीजवाफ, कविता एवम् निबन्ध प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सरकारले विसं २०६९ देखि हरेक वर्ष मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्ष ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधार, करदातामैत्री एवम् सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने मूल उद्देश्यका साथ एक सातासम्म कर दिवस मनाउने योजना बनाइएको छ । रासस
No comments:
Post a Comment