काठमाडौँ, १० मङ्सिर । नेपालको सीमाभित्र प्रवेश गरी भारतीय सुरक्षा बलले नेपाली जनतामाथी गोली प्रहार गरी घाइते बनाएकोमा जनमोर्चा नेपालले घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
जनमोर्चा नेपालले आज यहाँ पे्रस विज्ञप्ति जारी गर्दै सीमावर्ती क्षेत्रका नेपाली जनताको शान्तिपूर्ण तरिकाबाट बाच्न पाउने अधिकारलाई जबर्जस्ती मिचेर चाँदनी, दाङ कोइलाबास, बर्दिया, रुपन्देही नवलपरासी, हुँदै ठोरी महोत्तरी, सिराह, सप्तरी, सुनसरी क्षेत्रमा ज्याजती गरेकोप्रति आपत्ति जनाएको छ ।
जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारीले नेपाल सरकारलाई आफ्नो देशका नागरिकले पाएको विभिन्न किसिमका समस्याको समाधान गर्न र जीउधनको रक्षा गर्ने गम्भीर जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभएको छ ।
यसैबीच मानवअधिकार तथा शान्ति समाजले भारतीय सीमा सुरक्षाबलद्वारा बुधबार नेपालको सुनसरी जिल्लाको हरिपुरमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको र चार जना नेपाली नागरिकलाई घाइते तुल्याएको घटनाप्रति निन्दा एवम् भत्र्सना गरेको छ ।
एउटा स्वतन्त्र एवम् सार्वभौम राष्ट्रमा अनाधिकृत रूपमा प्रवेश गरी भारतीय सुरक्षाकर्मीले गोली चलाउनु अपराध हो भने त्यसले भारतको आक्रामक एवम् असहिष्णु चरित्र पनि उदाङ्गो पारेको छ, शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– “भारतको यस्तो प्रवृत्तिले दक्षिण एसियाकै शान्ति खल्बलिन थालेको दुःखद अनुभव शान्ति समाजले गरेको छ ।”
युवासङ्घको विरोधसभा
युवा सङ्घ नेपालले भारतीय सुरक्षाकर्मीबाट सुनसरीमा गोली चलाएर चार जना नेपालीलाई घाइते बनाएको विषयलाई चाँडो छानबिन गर्न माग गर्दै आज विरोधसभा गरेको छ ।
नयाँ बानेश्वरमा गरिएको सभामा सङ्घका अध्यक्ष राजीव पहारीले सार्वभौम सम्पन्न राष्ट्र नेपालमा छिमेकी मुलुक भारतका सुरक्षाकर्मी प्रवेश गरी अन्धाधुन्ध गोली चलाएर नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गरेको विषयप्रति सरकार संवेदनशील भई छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कट्ुवालले सो घटनाका बारेमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै भारतले गरेको अतिक्रमणलाई लिएर सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्नुपर्ने धारणा राख्नु भयो ।
सङ्घले घटना हुनुका कारणलाई अविलम्ब भारत सरकारले दृष्टिकोण सार्वजनिक गर्नुपर्ने माग गर्दै घटनामा संलग्न अपराधीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ ।
यसअघि सङ्घले सो घटनाको विरोधमा केन्द्रीय कार्यालय बुद्धनगरबाट बिजुलीबजार हुँदै समारोहस्थलसम्म पदयात्रा गरेको थियो ।
विद्यार्थीद्वारा प्रदर्शन
अखिल (क्रान्तिकारी)ले बुधबार सुनसरीको हरिहरपुरमा भारतीय सीमा सुरक्षा बलका जवान हतियारसहित नेपाल प्रवेश गरी गोली चलाएर चार नेपालीलाई घाइते बनाइएको घटनाविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
एनेकपा (माओवादी) निकट रहेको उक्त विद्यार्थी सङ्गठनको नेतृत्वमा आज रत्नराज्य लक्ष्मी क्याम्पस अगाडिको सडकमा विद्यार्थीले चक्काजाम गर्दै घटनाको विरोध गरेका हुन् ।
विरोध कार्यक्रमलाई अखिल (क्रान्तिकारी) सचिवालय सदस्य सुरेन्द्र बस्नेतले सम्बोधन गर्दै भारतीय सुरक्षा बल नेपाली भूभागभित्र प्रवेश गरेर निर्दोष जनतामाथि गोली बर्साउनु ज्यादतीको पराकाष्ठा भएको बताउनुभयो ।
उहाँले भारतले यस्तो कार्य पटकपटक दोहोर्याएको भन्दै त्यो नरोकिए नेपाली विद्यार्थी प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो । रासस
No comments:
Post a Comment