काठमाडौँ, १७ कात्तिक । यातायातका साधन कम चलेका र विद्यालय सञ्चालन भएको दिन परेकाले भिटामिन ‘ए’ खान आउने बालबालिकाको सङ्ख्या अत्यन्तै कम भएको छ ।
यसभन्दा अघिको समयमा शुक्रबार र शनिबार गरी दुई दिन खुवाउँदै आएकोमा यो वर्ष विद्यालय सञ्चालन भएको दिन र इन्धन अभावका कारण यातायातका साधन कम चलेकाले भिटामिन खाने उमेर समूह ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको सङ्ख्यामा कमी आएको स्वयम्सेविकाले बताएका छन् ।
काठमाडौँ महानगरपालिका भित्र पर्ने ३५ वटा वडाका करिब एक लाख २० हजार बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि, बालभिटा र कुपोषण जाँच गर्नका लागि २८० वटा बुथ निर्धारण गरिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विगतको समयमा एक दिनमा एक स्थानबाट मात्र ३०० जनासम्म बालबालिकालाई खुवाउने गरेको गरेको भए पनि आज दोस्रो दिन भइसक्दासमेत एक स्थानबाट करिब एक सयजनालाई मात्र खुवाइएको काठमाडौँ वडा नम्बर ३१ पुरानो बसपार्कमा सहयोगका लागि बस्नुभएकी स्वयम्सेविका निशा अलीले बताउनुभयो ।
अलीका अनुसार विद्यालय सञ्चालन भएको दिन भए पनि विद्यालयको आसपासमा खुवाउने स्थान निर्धारण भएको भए धेरै बालबालिका सजिलै यो सेवाबाट लाभान्वित हुने थिए । यसै समयमा विद्यालय लाग्नु र इन्धन अभाव हुनु नै बालबालिका कम आउनुको प्रमुख कारण हो । यो कार्यक्रम आगामी बिहीबारसम्म सञ्चालनमा रहनेछ । रासस
No comments:
Post a Comment