Wednesday, November 4, 2015

नियमित उपचारले एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ

काठमाडौँ, १८ कात्तिक । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१÷७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरुबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो ।

सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने सम्भावना बढेर गएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार उपचारको प्रभाव राम्रो परेका कारण नयाँ सङ्क्रमित कम पाइएका र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।

उहाँले करिब २८ जिल्लामा यो उपचार सजिलै भइरहेको र बाँकी जिल्लाको जिल्ला अस्पतालमा मात्र रहेकाले जिल्लाको सबै भागमा उपचार पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एचआईभी सङ्क्रमणको पनि सँगै परीक्षण गरी सङ्क्रमित पाइएमा उपचार सुरु गरी जन्मने शिशुलाई सङ्क्रमणबाट जोगाउन सकिने निर्देशक सिंहको भनाइ छ ।

नेपालमा चालु आवमा ३९ हजार २४९ अनुमानित सङ्क्रमित रहेकामा एक हजार ९६८ शिशु सङ्क्रमित पाइएको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेका छन् । यसैगरी ४९८ गर्भवती महिलालाई उपचारको आवश्यकता रहेको पाइएको छ भने दुई हजार ५७६ जनाको एचआईभी÷एड्सका कारण मृत्यु भएको छ ।

सरकारले सन् २०२० सम्ममा अनुमानित सङ्क्रमितमध्ये ३६ हजारको परीक्षण गरी ३२ हजारलाई उपचार गर्ने र तीमध्ये २८ हजारमा उपचारको सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको सूचना अधिकृत रावलले बताउनुभयो ।

यस्तै सरकारले सन् २०३० सम्ममा एचआईभी सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गर्ने लक्ष्य राखेकामा अहिलेकै अवस्था रहे लक्ष्य पूरा गर्न सकिने रावलको तर्क छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts