Thursday, November 26, 2015

पर्यटकीय विकास समेतलाई समेट्ने गरी योजना छनोट गर्न सुझाव

पोखरा, १० मङ्सिर । जिल्ला विकास समिति कास्कीद्वारा आज यहाँ आयोजित पूर्वयोजना तर्जुमा गोष्ठीमा वक्ताले योजना तर्जुमा गर्दा यहाँको पर्यटकीय सम्भाव्यतालाई दृष्टिगत गरी योजना छनोट गर्न जोड दिएका छन् ।

पर्यटन कास्की जिल्लाको विशिष्ट पहिचान भएको भन्दै वक्ताले विभिन्न कारणबाट यहाँको सौन्दर्य ओझेलमा पर्दै गएको भन्दै सौन्दर्य कायम राख्दै थप पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा सांसद शारदा पौडेलले पर्यटन कास्कीको महत्वपूर्ण पहिचान भएको बताउँदै फेवातालसहित लेखनाथ नगर क्षेत्रका सात तालको संरक्षण र विकास अपरिहार्य भएको बताउनुभयो ।

राजनीतिकरणले विकास प्रभावित हुन नहुने उल्लेख गर्दै उहाँले जिल्लाको विकासका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो ।

उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले कास्कीका पर्यटकीय सम्भाव्यतालाई उजागर गर्ने गरी बृहत्तर गुरुयोजना निर्माण गरिनुपर्ने बताउनुभयो ।

विश्वबाट यहाँका ताल तलैया हेर्नका लागि पर्यटक आउने गरेको बताउँदै उहाँले यिनीहरूको संरक्षण र विकास समेतलाई दृष्टिगत गरी योजना छनोट गरिनुपर्ने धारणा राख्नुभयो । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले कास्कीलाई पर्यटकीय गन्तव्य बनाउने योजना राखिए पनि अपेक्षित रुपमा त्यसको कार्यान्वयन बढ्न नसकेको बताउनुभयो ।

विकास निर्माणका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषको रकम जिल्ला विकास समितिसँग समन्वय नभइ पहुँचका आधारमा वितरण हुने गरेका कारण त्यसको सही सदुपयोग हुन नसकेकामा उहाँको जोड थियो ।

नेकपा(माले) कास्कीका सचिव होमनाथ गिरीले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्न जिल्लालाई विद्युत् भार कटौटीमुक्त बनाउन लघु विद्युत् योजना, सौर्य ऊर्जालगायतमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

समाजसेवी कालिदास सुवेदीले ताल कास्की जिल्लाको सौन्दर्य भएको र संरक्षणको अभावमा यो सौन्दर्य मेटिने अवस्थामा पुगेकाप्रति सबैको ध्यान जानु आवश्यक हुने बताउनुभयो । संरक्षणकै अभावमा रुपातालको अस्तित्व मेटिने अवस्थामा पुगेको चर्चा गर्दै उहाँले जिल्लाका सौन्दर्य बचाउन आगामी योजनामा तिनको संरक्षण र विकासलाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गनुभयो ।

जिल्ला विकास समिति कास्कीका योजना अधिकृत कीर्तनराज पौडेलले जिविसले सहभागितामूलक तवरबाट योजना छनोट कार्यलाई अघि बढाउने बताउनुभयो । कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक रामजी बराल, महिला समन्य समिति, कास्कीकी उपाध्यक्ष तारा अधिकारी, महिला विकास अधिकृत लक्ष्मी जिसी, ज्येष्ठ नागरिक वसन्तकेशव पराजुली, गैरसरकारी महासङ्घ कास्कीका अध्यक्ष गोपाल खड्कालगायतले योजना छनोट गर्दा लक्षित वर्ग र समुदायमा पुग्ने तवरबाट छनोट गरिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले कास्कीको पर्यटकीय विकासमा महत्वपूर्ण स्थान ओगट्ने फेवातालसहित लेखनाथका तालको संरक्षणका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

उहाँले सबै वर्ग र समुदायबाट प्राप्त सुझावका आधारमा योजना छनोट कार्यलाई निष्कर्षमा पु¥याइने विश्वास व्यक्त गर्दै यसका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts