Thursday, November 12, 2015

गौरीफँटामा नेपाली ग्राहकको भीड

धनगढी, २७ कात्तिक । भारतले लगाएको अघोषित नाकबन्दीको परवाह नगरी मालसामान किनमेलका लागि सीमावर्ती गौरीफँटा बजारमा यतिबेला नेपालीको भीड लागेको छ ।

नाकाबन्दीका कारण धनगढी अत्तरियालगायतका बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ता कपडाको मूल्य वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफँटा आएको उपभोक्ताले बताएका छन् ।

धनगढीमा खाने तेल चिनीलगायतका उपभोग्य सामानको मूल्य छोइनसक्नु भएपछि आफू उपभोग्य सामान किनमेलका लागि गौरीफँटा पुगेको धनगढीकी सरस्वती जोशीले बताउनुभयो ।

गौरीफँटामा जाने ग्राहकमध्ये ९९ प्रतिशत ग्राहक नेपाली नै हुने गरेको गौरीफँटाका कपडा पसले कृष्ण गुप्ताले बताउनुभयो ।

नाकाबन्दी लगाइएको भए पनि “नेपाल र भारतका जनताबीचको पुरानो सम्बन्ध टुटेको छैन, गुप्ताले भन्नुभयो – “नाकाबन्दीको समस्या काठमाडौँ र दिल्लीबीचको राजनीतिक मुद्दा भएकाले दुवै देशका सरकारले मिलेर समाधान खोज्नुपर्छ ।”

सामान किनमेल गरेर फर्किने नेपालीलाई भारतीय भन्सारका कर्मचारीले सीमामा झोला खानतलासी गरी बेलाबखत दुःख दिने गरेको भए पनि चाडबाडका समयमा भने दुःख नदिएको अनुभव सामान किनमेल गरेर फर्किंदै गरेका कैलालीका कपिल भट्टले सुनाउनुभयो ।

गौरीफँटा र नजिकै रहेको अर्को भारतीय बजार वनगाउँमा हिजोआज दैनिक हजारभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको स्थानीय व्यापारीले बताएका छन् ।

नाकाबन्दीसँगै नेपालमा इन्धनको चरम अभाव भएपछि सीमावर्ती डोकेबजारको सडक छेउमै पेट्रोल भरिएका बोतलको कारोबार ह्वात्तै बढेको देखिन्छ । एक लिटरका यी बोतलको बिक्री मूल्य रु १७० रहेको एक व्यापारी महिलाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts