भैरहवा, १३ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा रुपन्देहीका स्थानीयस्तरसम्म पुगेर महिला तथा बालबालिका कार्यालयले सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मङ्सिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्ध हुने कार्यक्रममा जिल्लाका २२ वटा सङ्घसंस्था परिचालन गरिएको महिला तथा बालबालिका कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा क्रियाशील रहेका महिला सहकारी, किशोरी समूह, सामाजिक परिचालिका र विभिन्न सामाजिक सङ्घसंस्थाका कार्यकर्ताहरु गाउँगाउँमा पुगेर लैङ्गिक हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिइरहेका छन् ।
महिला तथा बालबालिका कार्यालय रुपन्देहीको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहकार्यमा जिल्लाका सबै क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।
अहिले यी सङ्घसंस्थाले मिलेर सेतो रिबन वितरण अभियान, पम्प्लेट वितरण, अन्तक्र्रिया, सडक नाटक, हिंसाविरुद्धको प्रशिक्षणजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइएको छ ।
यस्ता कार्यक्रम नेपालका सबै जिल्लामा भइरहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सूचना शाखाले जनाएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सूचना अधिकारी उपसचिव रामप्रसाद भट्टराईले “राज्यले समतामूलक समाज निर्माणका लागि आफ्ना संयन्त्रमार्फत लैङ्गिक हिंसाविरुद्धको अभियानलाई तीव्रता दिएको जानकारी दिनुभयो ।” उहाँले राज्यले समाजमा हुने कुनै पनि लैङ्गिक हिंसाको अन्त्य होस् भन्ने उद्देश्यले विभिन्न क्रियाकलाप गरिरहेको जनाउँदै महिला हिंसालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जनाउनुभयो ।
महिला तथा बालबालिकाको कार्यालय रुपन्देहीकी प्रमुख उषा रावलले भन्नुभयो – “ सहरी क्षेत्रमा महिला सचेत रहे पनि ग्रामीण क्षेत्रमा हिंसा हुने क्रम नरोकिएको भन्दै यस्ता हिंसाविरुद्धमा विभिन्न निगरानी समूह बनाई परिचालन गरिएको छ ।”
रुपन्देहीमा अहिले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सबै क्षेत्रका महिला तथा सरोकारवालासमक्ष पु¥याउने कोसिस गरिएको छ ।
महिला अधिकारको आवाज बुलन्द गराउन निरन्तर लागिरहेको संस्था माइती नेपाल भैरहवा शाखाकी प्रमुख प्रभा खनालले “महिला तथा बालबालिका कार्यालयको सहकार्यमा लैङ्गिक हिंसाविरुद्ध सबै एकताबद्ध भएर अगाडि बढ्ने सहमति गरिएको बताउँदै माइती नेपालले सीमादेखि गाउँसम्म हिंसामा परेका महिलालाई सहायता दिइरहेको र यस्ता हिंसा अन्त्यका लागि लडिरहेको जनाउनुभयो ।
महिला अधिकारका विषयमा काम गरिरहेको गैरसरकारी संस्था नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले महिला हिंसाविरुद्धको १६ दिने अभियानमा स्थानीयस्तरको सरकारी संयन्त्र महिला तथा बालबालिका कार्यालयको समन्वयमा विभिन्न कार्यक्रम अगाडि बढाइरहेको जनाउँदै महिला अधिकारको सञ्जाललाई स्थानीयस्तरका महिला पुरुषसमक्ष चेतना अभिवृद्धि, कानुनी सचेतना, हिंसापीडित महिलासँग अन्तक्र्रिया तथा घरेलु हिंसा विधेयकको कार्यान्यन पक्ष, बलात्कारजस्ता जघन्य अपराधको न्यूनीकरण र कानुनी प्रक्रियाका विषयमा लागिरहेको जनाउनुभयो ।
महिला हिंसाको विरुद्धमा हुने तुरुन्त सहजीकरण र कानुनी सहायताका विषयमा समेत १६ दिने लैङ्गिक अभियानमा महिलालाई जानकारी दिइएको छ । महिलाका लागि खडा गरिएको महिला प्रहरी सेल, प्रत्यक्ष हिंसापीडित महिलाका लागि स्थापना भएका सङ्घसंस्थाका विषयमा समेत स्थानीयस्तरमा गएर सचेतना गराइएको छ । महिलापीडित भएर होइन अधिकार लिएर बस्नसमेत यो अभियानले सिकाएको छ ।
पुरुषलाई समेत सेतो रिबन कार्यक्रमअन्तर्गत सेतो रिबन कार्यक्रम सुरु गरी म हिंसा गर्दिनँ, हिंसाको प्रतिकार गर्दछु र न्यूनीकरणमा सहयोग पु¥याउँछुजस्ता प्रतिबद्धता रुपन्देहीमा विभिन्न सङ्घसंस्थाले गराएका छन् ।
अहिले लैङ्गिक हिंसाविरुद्धमा गरिएको अभियानमा महिला मात्र सहभागिता गराउँदा पुरुष बेखबर हुने हुनाले यहाँको सङ्घसंस्थाले पुरुषलाई समेत सहभागिता गराएर कार्यक्रम गरिरहेको छ ।
राज्यले कानुनी प्रावधान गर्दासमेत विभिन्न सचेतनाको कमीले हिंसापीडित न्याय पाउने ढोकासम्म पुग्न निकै गाह्रो भएकाले यहाँका स्थानीय सङ्घसंस्थाले कानुनी बाटो देखाउँदै हिंसा गर्नेहरुलाई हुने कानुनी प्रक्रियालाई स्थानीयवासी महिला तथा पुरुषसम्म विभिन्न अन्तक्र्रियामार्फत पु¥याएका छन् । रासस
No comments:
Post a Comment