काठमाडौँ, २३ कात्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठो चीज खान दिएर मनाइएको छ ।
काग तिहार पर्वबाटै आजदेखि तिहार अर्थात् यमपञ्चक पर्व पनि सुरु भएको छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहारलाई मनाउने गर्छन् ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो खान दिई खुसी पार्ने गरिएको पनि उहाँले बताउनुभयो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, भनी भन्ने प्रचलन रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही, भात खुवाउने प्रचलन रहेको छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । आज साँझ यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने गरिन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ । रासस
No comments:
Post a Comment