भक्तपुर, ९ मङ्सिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशको शिक्षा क्षेत्रमा ठूलो असर परेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) शिक्षा मन्त्रालयद्वारा आज सानोथिमिमा आयोजित तेस्रो अधिवेशनको उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले नाकाबन्दी, बन्द र हडतालका कारण शिक्षा क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गर्नु भयो ।
उहाँले शिक्षालाई समाजवादी दृष्टिकोणबाट हेरिनुपर्ने भन्दै समग्र शिक्षाक्षेत्रको व्यापक प्रणालीगत विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारलाई सयौँ ऐन नियम बनाउने कार्यभार रहेको औँल्याउँदै शिक्षामन्त्री पोखरेलले संविधानमा उल्लेख भएअनुसार नेपालको शिक्षा प्रणालीलाई पुनःसंरचित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
शिक्षा क्षेत्रमा रहेको अराजकतालाई जसरी पनि हटाउनुपर्ने बताउँदै उहाँले यसलाई हुनेखाने वर्गबाट तल्लो वर्गसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षामन्त्रीले शिक्षामा चाहिने बजेट, समाजवाद उन्मुख शिक्षा नीति र सार्वजनिक शिक्षाबारे व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । रासस
No comments:
Post a Comment