जनकपुरधाम, ९ मङ्सिर । भाइ बहिनीबीच प्रेमको प्रतीक भएको सामाचकेवा पर्व आज सम्पन्न भयो ।
दाजु भाइको दीर्घायु, सुख–समृद्घिका लागि यो पर्व कात्तिक पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ ।
सामाचकेवा मनोरञ्जनका साथै धार्मिक र सांस्कृतिक खेल हो । विशेष गरी यो खेल बालिकाको भए पनि तरुनी र प्रौढले पनि उत्साहपूर्वक खेल्ने गरेको पाइन्छ ।
यस पर्वमा माटोका आकृति बनाएर दिदी बहिनी त्यसैबाट मनोबाञ्छित फल प्राप्तिको कामना गर्दछन् । सामाचकेवा पर्वमा सामा र चकेवा मुख्य पात्र हुन्छन् । सामा स्त्री र चकेवा पुरुष हुन्छन् भने यसका साथै चुगला, ढोलिया, भरिया, सतभैया, वनतितर, झाँझी कुत्ता र वृन्दावन पनि हुन्छन् ।
यस पर्वमा मूर्तिलाई चलायमान गरी संवादको आनन्द लिने गरिन्छ, कुनै बेला चुगला गर्नेको मुख आगोले पोलिन्छ र कुनै बेला वृन्दावनमा आगो लगाइन्छ ।
एउटा डालामा राखिएका सबै माटोका मूर्ति त्यति बेला जीवन्त भएर आउँछ जब महिला त्यसलाई पात्रको रुपमा उभ्याएर गीति संवाद गर्छन् ।
भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुकली गर्नेको प्रतीक चुगला प्रवृतिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद यस पर्वको संरचनामा रहेको छ ।
सामाचकेवा पर्वमा सामाचकेवाको चरारुपमै पूजा गरिन्छ । पूर्णिमाका दिन दाजुभाइले सामालाई घँुडामा राखी फुटाले पछि सबैले अन्य मूर्ति फुटाल्छन् ।
भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो, श्यामा र चारुवक्य शब्दको अपभ्रंश भई सामा र चकेवा नाम परिवर्तन भएको पाइन्छ ।
पूर्णिमाका दिन सामाचकेवालाई अर्काे वर्ष फेरि ‘कुड खेतमा आई बस्नु है’ भन्दै सबै माटोका पात्र बिसर्जन गरिन्छ । रासस
No comments:
Post a Comment