Wednesday, November 4, 2015

राष्ट्रपतिलाई बधाई

काठमाडौँ, १८ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आयोगका तर्फबाट कार्यकाल सफलताका लागि शुभकामना दिँदै बधाई ज्ञापन गर्नुभएको छ ।

मुलुकको पहिलो महिला राष्ट्रपति श्रीमती भण्डारीसमक्ष कार्यबाहक प्रमुख यादव, निर्वाचन आयुक्त इला शर्मा र सचिव शारदाप्रसाद त्रितालसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवास पुगेर बधाई ज्ञापन गरेको हो ।

संविधानको संरक्षकका रुपमा रहनुभएका राष्ट्रपति भण्डारीलाई सो अवसरमा टोलीले निर्वाचन आयोगको सङ्गठनात्मक स्वरुप, काम, कर्तव्य, नयाँ संविधानले प्रत्याभूति गरेको अधिकार र जिम्मेवारी तथा स्थानीय निकायको निर्वाचनको घोषणा भएका खण्डमा गर्नुपर्ने आवश्यक तयारीलगायतका विषयमा अवगत गराएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आयोगका तर्फबाट प्रस्तुत गरिएको जानकारी ग्रहण गर्दै जनताको मतलाई बढीभन्दा बढी सुरक्षित तुल्याउन मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगलाई सुझाव दिनुभएको कार्यबाहक प्रमुख निर्वाचन आयुक्त यादवले राससलाई जानकारी दिनुभयो ।

विदेशमा रहेका नेपालीलाई मुलुकमा हुने विभिन्न निर्वाचनमा मतदानमा कसरी सामेल गराउन सकिन्छ भन्नेतर्फ सोच्न पनि आयोगका पदाधिकारीलाई राष्ट्रपति भण्डारीले सुझाव दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts