काठमाडौँ, २७ मङ्सिर । संसारकै उच्च हिमाल सगरमाथाको आरोहण गर्न जो कोही लालायित हुने गर्छन् ।
कसैको इच्छा पूरा हुन्छ, कसैको हुँदैन, कोही बीचबाट नै फर्कन बाध्य हुन्छन् भने कोही चुचुरोमा पुगेर पनि जीवनलाई अगाडि बढाउन सक्दैनन् । तर यी सबैमा उनीहरुको साथ हुन्छन् ‘शेर्पा’ ।
काठमाडौँ अन्तर्राष्ट्रिय हिमालयन फिल्म महोत्सवको तेस्रो दिन आज सबैको उच्चाकर्षण रहेको सगरमाथाको विषयमा केन्द्रित वृत्तचित्र शेर्पा देखाइयो । सन् १९५३ मे २९ मा पहिलोपटक तेन्जिङ शेर्पा र एड्मन्ड हिलारीले सगरमाथामा पाइला राखेदेखि नै सगरमाथा आरोहरणको ढोका खुलेको थियो ।
वृत्तचित्रमा उनीहरुको कथालाई समेत देखाइएको छ । प्रथमपटक सगरमाथा सफलताका साथ आरोहण गरेपछि तेन्जिङलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सम्मान गरियो तर उनले कहिल्यै पनि यो इच्छा राखेनन् की दोहोराएर सगरमाथा चढुँ ।
उनका छोराछोरीसँग लिइएको अन्तर्वार्ताले पनि यो देखाउँछ की सगरमाथा आरोहण गर्नु सानो चुनौती हैन । यसका बाबजुद पनि शेर्पा सगरमाथा आरोहण गर्न छोडदैनन् सरकारले शेर्पाको योगदान बुझ्न नसकेको उनीहरुले गुनासो गरे ।
आफ्नो ज्यानलाई सधैँ हत्केलामा राखेर हिँड्ने व्यक्ति शेर्पा नै हुन्छन् । आरोहीलाई सगरमाथाको चुचुरोमा पु¥याउने जिम्मा लिएका ‘गाइड शेर्पा’ भारी बोक्ने ‘पोर्टर शेर्पा’ को भूमिका महत्वपूर्ण हुन्छ । गरिबी, अशिक्षालगायतका कारण शेर्पा जातिका अधिकांशले आफ्नो औपचारिक शिक्षालाई अगाडि बढाउन सकेका छैनन् ।
वृत्तचित्रले विशेषगरी सन् २०१४ अप्रिल १८ दिन सगरमाथामा गएको हिमपहिरोमा परी ज्यान गुमाउन पुगेका १६ जना शेर्पाको कथालाई समेटेको छ । रसेल नामका विदेशी आरोहीको सहयोगका लागि उनीहरु काम गरिरहेका हुन्छन् । आरोही टोलीका लागि बाटो बनाउने क्रममा एक्कासि आउने हिमपहिरोले उनीहरु पुरिन पुग्छन् । त्यस दिनलाई सगरमाथा आरोहणको ‘कालो दिन’ का रुपमा लिएर त्यो वर्षभरि नै आरोहण नगर्ने निर्णय अन्य शेर्पाहरुले लिन्छन् ।
दुर्घटना भएको पाँचौँ दिनमा सरकारका तर्फबाट गएका पर्यटनमन्त्री भीम आचार्यसँग शेर्पाहरुले त्यस वर्ष आरोहण बन्द गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दा मन्त्री आचार्यले केही सम्बोधन नगरी फर्केको वृत्तचित्रमा देखाइएको छ । केही समयपछि भने सरकारले उनीहरुको माग पूरा गरेको थियो ।
रसेलको टोली फेरि सगरमाथाको आरोहण गर्न सकिन्छ कि भन्दै दुर्घटना भएको एक हप्तासम्म बेस क्याम्पमा नै बस्छन् । तर दुर्घटनाको सातौँ दिन भने उनीहरु फर्कन बाध्य हुन्छन् । टोलीमा संलग्न धेरै जना आरोहीले यसअघि पनि पटक पटक बेस क्याम्पबाट फर्किसकेको अनुभव सुनाउँछन् ।
वृत्तचित्रमा मुख्य पात्रका रुपमा फुर्वा छिरिङ शेर्पालाई लिइएको छ । उनी त्यही टोलीमा हुन्छन् । उनको जीवनीसँग वृत्तचित्र सुरु हुन्छ । उक्त दुर्घटनापछि उनले आरोहण पेसा नै छोडिदिन्छन् ।
भूकम्पका कारण सगरमाथामा गएको हिमपहिरोमा परी सगरमाथा बेस क्याम्पका १९ जना आरोहीको मृत्यु भएको थियो । जसमा १० जना शेर्पा रहेका थिए ।
आरोहणका क्रममा जुनबेला पनि मृत्यु हुनसक्ने जान्दाजान्दै पनि शेर्पा यो व्यवसाय छाड्न सक्दैनन् किनकी उनीहरुको मुख्य आयस्रोत भनेकै आरोहण हो । अष्ट्रेलियन नागरिक जेनिफर पिडोमले निर्माण गर्नुभएको उक्त वृत्तचित्रले सगरमाथाको आकर्षण र यसका चुनौतीलाई देखाउन सफल भएको छ ।
महोत्सवमा आज विभिन्न देशका १३ वृत्तचित्र प्रदर्शनी गरिएको थियो । रासस
No comments:
Post a Comment