Friday, December 25, 2015

समस्या समाधान गर्न प्रमुख दलका शीर्षनेताबीच छलफल

काठमाडौँ, १० पुस । तराई–मधेसको समस्या समाधान गर्ने र व्यवस्थापिका–संसद्को गत्यावरोध खोल्ने विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक परामर्श गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग उहाँले छुट्टाछुट्टै परामर्श गर्नुभएको हो ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको परामर्शमा व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई आन्दोलतर मधेसी मोर्चाको सहमतिमा नै अगाडि बढाउने विषयमा कुराकानी भएको थियो ।

लामो समयदेखि मुलुक सङ्कटमा फसेको, समस्या समाधानको विभिन्न प्रयत्न भए पनि सार्थक निष्कर्ष ननिस्केको भन्दै सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अधिकतम सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलका अनुसार नेताहरुबीचको परामर्शमा आइतबार बस्ने सदनको बैठकबाट संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र नेपाल–भारत सीमामा जारी रहेको अवरोध हटाउने विषयमा नै केन्द्रित रहेको थियो ।

मोर्चाका नेतासँग छुट्टै परामर्श

एमाओवादी अध्यक्ष दाहालले आजै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि छुट्टै छलफल गर्नुभएको छ ।

राजधानीको एक निजी निवासमा भएको छलफलमा अध्यक्ष दाहालले सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर मोर्चाका नेताहरुले भने सीमाङ्कनको विषय नै प्रमुख एजेन्डा भएकाले सो विषयमा प्रस्ट अवधारणा अगाडि सार्न आग्रह गर्नुभएको थियो ।

अध्यक्ष दाहालले भने सीमाङ्कनको विषय जटिल विषय भएकाले राजनीतिक समितिमार्फत तीन महिनाभित्र समाधान गर्न सकिने भएकाले सहमतिमा आउन मोर्चाका नेतालाई अनुरोध गर्नुभएको थियो । मोर्चाका नेताहरुसँग पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै छलफल भएको अध्यक्ष दाहालका सहयोगी खकुरेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts