काठडमौँ ७ पुस । सभामुख ओनसरी घर्ती र नेपालका लागि इजरायलका राजदूत यारोन मायरबीच सभामुखको कार्यकक्ष सिंहदरबारमा आज शिष्टाचार भेटघाट भएको छ ।
सो अवसरमा सभामुख घर्तीले इजरायलले नेपालको कृषि, स्वास्थ्यलगायतको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । सभामुख घर्तीले भूकम्पबाट नेपालमा भएको अतुलनीय क्षतिमा इजरायल सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै इजरायलले नयाँ संविधानको स्वागत गरेकामा समेत खुसी र आभारसमेत व्यक्त गर्नुभयो ।
भेटघाटका क्रममा राजदूत मायरले इजरायल र नेपालबीचको कूटनीतिक सम्बन्धको ६५औँ वर्ष पुगेकोे स्मरण गर्दै दुई देशबीच सम्बन्ध जनस्तरमा समेत रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको विकासमा इजरायलको सधैँ सहयोग र सद्भाव रहने बताउँदै नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।
आजै सभामुख घर्ती र नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकबीच पनि शिष्टाचार भेटघाट भयो ।
सो अवसरमा सभामुख घर्तीले उत्तर कोरिया र नेपालबीच धेरै समानता रहेको स्मरण गर्दै एक असलमित्रको रुपमा व्यवहार गर्ने गरेको कुराको प्रशंसा समेत गर्नुभयो । कोरिया सरकारले नयाँ संविधानको स्वागत गरेकामा समेत खुसी र आभार व्यक्त गर्नुभयो ।
कोरिया आफ्नो निर्णय आफैँ गर्न सक्षम रहेको स्मरण गर्दै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले आफ्नो निर्णय आफैँ गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।
साथै, आफ्नो कार्यकालमा नेपाल र कोरियाको संसद्बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको विचार व्यक्त गर्नुभयो ।
भेटघाटका क्रममा राजदूत किमले आफ्नो देशको अवस्था अवगत गराउँदै उत्तर कोरिया स्वतन्त्र र शान्तिप्रेमी राष्ट्र भएको एवम् कसैको अधिन र अधिपत्व नस्वीकार्ने बताउनुभयो ।
उहाँले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको प्रतिबद्धतामा समर्थन रहेकोे बताउँदै कोरिया संयुक्त कोरियाको पक्षमा रहेको तर जर्मनीजस्तो एकीकरण स्वीकार नगर्ने विचार व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment