काठमाडौँ, ११ पुस । मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेका लागि व्यवस्थित गरी सम्मानपूर्वक बाँच्ने वातावरण बनाइदिनुपर्ने मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले माग गरेका छन् ।
रक्षा नेपालले राजधानीमा आयोजना गरेको अन्र्तक्रियामा उनीहरुले विधिवत रुपमा दर्ता भएका रेष्टुरेन्ट, मसाज पार्लरलगायत संस्थामा बिना छेडछाड काम गर्ने वातावरण बनाइदिनुपर्ने अन्यथा दर्ता खारेज गर्नुपर्ने माग गरेका हुन् ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि ग्राहकबाट भएको ज्यादतीमा प्रहरी प्रशासनले सहयोग गर्छ तर प्रहरीले हामी माथि गरेको ज्यादतीमा कसले सहयोग गर्छ ? भन्दै छ महिना अगाडि गोर्खाको बारपाकबाट काठमाडौँ छिरेकी एक युवतीले आँशु पुछ्दै भन्नुभयो, “अभिभावक गुमाए अनि यस पेसामा लाग्न बाध्य भए ।”
अहिलेसम्म केही राहत र सहयोग नपाएकाले रेष्टुरेन्टमा काम गरेको बताउँदै उहाँले भन्नुभयो, “मासिक दश हजार तलब दिन्छु भनेपछि रेष्टुरेन्टमा काम गर्न तयार भएँ महिना पुगेपछि तलब माग्दा आम्दानी भएकै छैन, तलब चाहिन्छ भने ग्राहकलाई खुसी पार भन्यो, धेरै दिन काम गर्न मानिन् पछि अरु विकल्प नभएपछि बाध्य भए ।” तर प्रहरीले बेलाबेला दिने अनावश्यक हस्तक्षेपले थप पिडा थपिएको उहाँको गुनासो छ ।
क्याविनमा काम गर्ने अर्की महिलाको पनि पीडा उस्तै छ । उहाँले पनि ग्राहकसँग जानका लागि साहुले नै बाध्य पार्ने गरेको र प्रहरीले पनि समयसमयमा आएर छेडछाड गर्ने गरेको दुःखेसो गर्नुभयो ।
नेपालमा मनोरञ्जन क्षेत्र भनी डान्स, दोहोरी क्याविन, मसाज पार्लर विधिवत रुपमा दर्ता भएका छन् । तिनीहरुबाट सरकारले कर लिने गरेको छ । दर्ता भएका तिनै ठाउँमा काम गर्दा प्रहरीले धरपकड गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले काम गर्दा किन हामीमाथि धरपकड गरिन्छ, हामीलाई होइन यसका व्यवसायीलाई धरपकड गरियोस् ।”
राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागाईंले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित बनाउन भएका ऐननियमलाई कार्यान्वयन गर्न सकेमा मात्र पनि धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले त्यसका लागि थप कानुनको आवश्यकता भएको औँल्याउनुभयो ।
नायब महानिरीक्षक प्रतापसिंह थापाले पीडितका कुरा सुनेपछि सबैको जस्तै प्रहरीको पनि कमीकमजोरी हुने बताउँदै त्यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरीय अपराध महाशाखा, टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्रनाथ खनालले भएको कानुनलाई विवेकसम्मत ढङ्गले प्रयोग गर्दै मनोरञ्जनात्मक क्षेत्रमा हुने अमर्यादित कामलाई व्यवस्थित गरी मर्यादित बनाइनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले गल्ती ग¥यो भने निर्धक्कसँग उजुरी गर्नुस् वा गोप्य रुपमा भए पनि उजुरी गर्नुस् हामी प्रहरीलाई पनि छाड्दैनौँ ।”
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्री ,महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी नायब उपरिक्षक दानबहादुर कार्की, महानगरीय प्रहरी वृत कमलपोखरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठ,महानगरीय प्रहरी वृत गौशालाका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीलगायतले पिडित महिलाको साथ र सहयोग भएमा सात दिनमा नै न्याय दिलाई पिडकलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले मनोरन्जनात्क क्षेत्र भनिएका स्थलहरुको औचित्य खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले मनोरन्जनात्मक क्षेत्रलाई निर्मूल पार्न सरकारले सक्दैन त्यसकारण पनि यो क्षेत्रलाई राज्यले मर्यादित र व्यवस्थित गर्न समेत सरकारलाई आग्रह गर्नुभयो ।रासस
No comments:
Post a Comment