काठमाडौँ, ५ पुस । ग्यास बिक्रेता महासङ्घले छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीले देशभित्र भइरहेको असहज आपूर्तिलाई सहज बनाउन सरकारलाई कूटनीतिक पहल गरी विकल्प खोज्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालले पूर्वी मधेस क्षेत्रमा थारु, मधेसी तथा जनजातिले लामो समयदेखि गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले उनीहरुका जायज र सम्भव भएका मागलाई वार्ताबाट राजनीतिक समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँले नाकाबन्दीका कारण इन्धन, औषधिलगायत अत्यावश्यकीय वस्तु तथा दैनिक उपभोग्य वस्तुको अभावले जनजीवन प्रभावित हुँदै गएकाले अब सरकारले चाँडोभन्दा चाँडो विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका महासचिव चन्द्र थापाले नाकाबन्दीका कारण करिब १५ हजार ग्यास डिलरको पेसा सङ्कटमा परेको र हरेका क्षेत्रको व्यवसायमा नकारात्मक प्रभाव परी देशको अर्थतन्त्रमा समस्या देखिएको तथा लाखौँ बालबालिका पठनपाठनबाट वञ्चित भएको जानकारी गराउनुभयो ।
विभिन्न कारण देखाएर ग्यास डिलरलाई ग्यास लिन उद्योगसम्म पुग्नुपर्ने बाध्यता सिर्जना भएको यस किसिमको कार्यले ढुवानी खर्च वृद्धि हुने र उपभोक्तालाई मार पर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी महासङ्घले वीरगन्जमा भएको मधेस आन्दोलनका नाममा महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र पासवानलाई जिउँदै जलाउने कार्य गरिएकामा घटनाको खेद प्रकट गर्दै दोषीलाई कारबाही गरी ग्यास व्यवसायीलाई व्यवसाय गर्न सक्ने वातावरण मिलाउन माग गरेको छ । रासस
No comments:
Post a Comment