काठमाडौँ, ६ पुस । विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्बाट पारित भइसकेको अवस्थामा सरकारले पुनःनिर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउने बताउनुभएको छ ।
युथ एड्भोकेसी नेपाल, दलित युथ एलायन्स र सोपान नेपाललगायत १४ सङ्घसंस्था आबद्ध राष्ट्रिय युवा पुनःनिर्माण सञ्जालले यहाँ आज आयोजना गरेको राष्ट्रिय पुनःनिर्माण कार्यशालामा उहाँले सरकारले छिट्टै पुनःनिर्माण कार्यलाई अगाडि बढाउने तयारी गरिरहेको र त्यसका लागि सम्पूर्ण राजनीतिक दलबीच एकताको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री पासवानले मधेसी मोर्चाले करिब तीन महिनादेखि गरेको बन्द, हडतालसँगै भारतले गरेको नाकाबन्दीबाट पाठ सिक्दै त्यसको दीर्घकालीन समाधानसँगै आत्मनिर्भरको बाटोमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका युवा नेता गगन थापाले पुनःनिर्माण प्राधिकरण भूकम्पपछिको पुनःनिर्माण मात्रभन्दा पनि त्यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको चाहनाअनुरुपको नयाँ संविधान जारी भएको अवस्थामा त्यसको कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो ।
युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले स्थानीय स्तरमा हुने नीति निर्माण, योजना निर्माण र त्यसको कार्यान्वयन प्रक्रियामा युवाको सहभागिताको माग गर्नुभयो । रासस
No comments:
Post a Comment