रत्ननगर (चितवन), २७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाको पहाडी इलाकाका विभिन्न क्षेत्रमा लगाएको ठूलो परिमाणको गाँजाखेती नष्ट गरेको छ ।
करिब १० बिगाहा क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले आज जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी इलाकामा गाँजाफँडानीका लागि शनिबारदेखिनै ५१ जनाको प्रहरी टोली खटाइएको थियो । प्रहरी एकाइ रत्ननगर टाँडी र भण्डारासमेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ५१ जनाको प्रहरी जनशक्ति लोथर र कोराक गाविसमा गएर गाँजा नष्ट गरिएको अधिकारीले जानकारी दिनुभयो ।
टोलीलाई छुट्टाछुट्टैरुपमा खटाई लोथरको नं. १, ३ र ५ (चोत्राङ र हुङपुङ) तथा कोराक गाविसको १, २, ३ र ५ (सुरखण्डी, हात्तीढाप, जिमिलिङ, गौडाडा, चौघरा, ठकुरी भञ्ज्याङ) मा गाँजा नष्ट गरेर प्रहरी फर्किएको आज प्रहरीले एक सूचनामा जनाएको छ ।
अन्दाजी करिब १० बिगाहा क्षेत्रफलमा लगाएको प्रचलित बजार मुल्यअनुसार रु एक करोड बराबरको अवैध गाँजाखेती नष्ट गरिएको अधिकारीले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष पनि चितवन प्रहरीले १५ बिगाहाभन्दा बढी क्षेत्रको गाँजाखेती नष्ट गरेको थियो । अहिले पनि सोही क्षेत्रमा गाँजाखेती लगाएको पाइएको छ । त्यसैले, गाँजा नियन्त्रण अभियानस्वरुप गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment