महेन्द्रनगर (धनुषा), ८ पुस । चार महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलनको कारण भइरहेको आमहडतालसँगै बन्द रहेको जनकपुरका निजी तथा सरकारी विद्यालय बिहीबारबाट खुल्ने भएका छन् ।
मोर्चाले विद्यालय सञ्चालन गर्न दिने भनेपछि मङ्सिर पहिलो साताबाट खुले पनि पुसको सुरुवातमै बन्द गराइएको थियो । शरत्सिंह भण्डारी नेतृत्वको रामसपा निकट समाजवादी विद्यार्थी सङ्घले बन्द अवधिको शुल्क विद्यार्थीसँग लिन नपाउने तथा दिउँसो आन्दोलन प्रभावित हुने गरी विद्यालय सञ्चालन नगर्न दबाब दिँदै हप्ता दिनदेखि पुनः विद्यालय बन्द गराएको थियो ।
बुधबार प्रगतिशील मधेसी समाजको अगुवाइमा आन्दोलनरत विद्यार्थी सङ्गठन तथा हिसान, प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले सम्झौता गरेपछि बिहीबारबाट विद्यालय खुल्न लागेका हुन् । बैठकले विद्यालय नखुलेको भदौ, असोज र कात्तिकमध्ये पछिल्लो दुई महिनाको शुल्क नलिने, भोलिदेखि बढ़ीमा ३ बजेसम्म मौसम अनुकूल कक्षा सञ्चालन गर्न पाउने र शिक्षकलाई विद्यालय बन्द अवधिको तलबसमेत शैक्षिक संस्थाले दिने निर्णय भएको समाजका अध्यक्ष डा सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
बैठकमा उच्च मावि सङ्घ (हिसान), प्याब्सन, एनप्याब्सन, जनकपुर उद्योग वाणिज्य सङ्घ, अञ्चल बस व्यवसायी सङ्घ, संयुक्त युवा सङ्घर्ष समिति, सञ्चारकर्मीलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले विद्यालय सुचारु गरी आन्दोलनलाई निरन्तरता दिन दबाब दिएका थिए । रासस
No comments:
Post a Comment