Wednesday, December 23, 2015

मधेस समस्याको समाधान वार्ताबाटै हुनेछ – अर्थमन्त्री पौडेल

बुटवल (खस्यौली), ८ पुस । अर्थमन्त्री विष्णु पौडेलले मधेसमा उत्पन्न भएको समस्या वार्ताबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

रुपन्देही व्यापार सङ्घको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको ‘लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला–२०७२’ को उद्घाटन गर्दै उहाँले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहल भइरहेको र केही दिनमै आपूर्ति व्यवस्था सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकमा इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको अभाव हुनुका साथै राष्ट्रिय महत्वका आयोजनाका काम अवरुद्ध भएको बताउँदै उहाँले मुलुकको अर्थ व्यवस्थालाई धराशायी पार्ने गरी हिंसाको बाटो नरोज्न आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो ।

अबको राजनीति विकासका लागि हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो – ऊर्जाको एउटा मात्रै आयोजना पूरा गर्नसके मुलुकको ऊर्जा सङ्कट समाधान हुन्छ ।

सरकार नीजि क्षेत्रको अभिभावक बन्न र सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो – “सरकार र निजी क्षेत्र नदीका दुई किनारामा होइनन् । हामी एउटै डुङ्गामा सहयात्रा गर्न तयार छौं ।”

कार्यक्रममा सांसद अब्दुल रज्जाकले कृषिजन्य उत्पादन, खाद्यान्नजस्ता वस्तुमा आत्मनिर्भर हुनेगरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्दै त्यसका लागि आफू र आफ्नो पार्टी नेपाली काँग्रेस सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्स्पो यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

मुलुकमा खस्कँदै गएको अर्थतन्त्रलाई माथि उठाउने लक्ष्यसहित आयोजना गरिएको मेलामा तयारी पोशाक, कृषि, जुत्ता÷चप्पल, दैनिक उपभोग्य वस्तु, अटो पेभेलियन, आइटी तथा सामाजिक सङ्घसंस्था, सेवामूलक एवम् निर्माणसम्बन्धी ६०० वटा स्टल राखिएको सङ्घका अध्यक्ष श्रीकृष्ण पोखरेलले जानकारी दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts