काठमाडौँ, ६ पुुस । हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवम् प्रवचन गरी आज यहाँ गीता जयन्ती मनाइएको छ ।
जियर एजुकेसनल ट्रष्ट विकास तरङ्गिणीले आज नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कार्यक्रममा चार वेदको भाव र सार समेटिएको गीता दर्शनका विविध पक्षमा विभिन्न विद्वान्ले प्रवचन गर्नुभएको थियो ।
वैद्विक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष एवम् सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “पूर्वीय दर्शनका धेरै ज्ञान पुस्तान्तर हुन नसकेकाले लुप्त प्रायः भए, गीता दर्शन भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो”– उहाँले भन्नुभयो ।
पाँच हजार १२५ वर्षअघि मार्ग शुक्ल एकादशीका दिन कौरव र पान्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीताको ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ ।
चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो । “ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अर्थवेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण कार्यक्रम आयोजना गरिएको हो”– उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रा डा शिवगोपाल रिसाल, जनार्दन घिमिरे, डा चक्रपाणि आचार्य र स्वामी पद्मधराचार्यलगायत वक्ताले नरलाई नारायण र आत्मालाई परमात्मासँग जोड्नका लागि गीताको ज्ञान महत्वपूर्ण माध्यम हुनेमा जोड दिनुभएको थियो ।
संस्थाले छ वर्षअघिदेखि मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउँदै आएको सो अवसरमा जानकारी गराइएको थियो । रासस
No comments:
Post a Comment