Thursday, December 17, 2015

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

काठमाडाँै, २ पुस । झन्डै चार वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा दीपकराज जोशी नियुक्त हुनुभएको छ ।

पर्यटन बोर्डको सञ्चालक समितिले अन्तिम तीन जना छनोटमा परेकामध्ये दीपकराज जोशी, ज्ञानेन्द्रसिंह महतो र डा ज्ञानेन्द्र तुलाधरमध्येबाट जोशीलाई सबैभन्दा बढी अङ्कका आधारमा आज नियुक्त गरेको हो । जोशी बोर्डमै वरिष्ठ अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सो समितिले कार्यविधिअनुसार शैक्षिक योग्यता, अनुभव र विशिष्ट क्षमताका आधारमा जोशीलाई छनोटका लागि सिफारिस गरेको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले राससलाई जानकारी दिनुभयो ।

सो पदका लागि १८ जनाले आवेदन भरेका थिए भने प्रारम्भिक छनोटमा १२ जना परेका र त्यसमध्ये नौ जनाले परीक्षा दिएको सचिव थपलियाले बताउनुभयो । नौ जनामध्ये जोशी, महतो र तुलाधर अन्तिम तीन जनाको सूचिमा पर्न सफल भएका थिए ।

चार वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको अवकाशपछि पर्यटन बोर्ड निमित्त र कायम मुकायम प्रमुखका भरमा चल्दै आएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts