काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद वातावरण समितिले वातावरणसँग सम्बन्धित रणनीतिक तथा कार्ययोजना तयार गर्न छ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकले त्यसका लागि समितिका सदस्य पार्वत गुरुङ संयोजक रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
एक महिना समयावधि तोकिएको उक्त समितिका सदस्यमा गणेशप्रसाद विमली, परशुराम तामाङ, छमबहादुर गुरुङ, कमला विश्वकर्मा र सीता ज्ञवाली रहनुभएको छ ।
यसअघि बैठकमा सदस्यहरुले संसदीय प्रणाली भएको मुलुकमा संसदीय समितिको गरिमा र प्रभावकारिता बढाउनेतर्फ सबै समितिसँग छलफल गरेर एकीकृत धारणा तयार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
समितिको काम कारबाही र मन्त्रालयको नीति तथा नियमसँग मेल नखाएको अवस्थालाई सच्याउन आवश्यक रहेको बताउँदै उहाँहरुले नीतिमा आउने तर नियममा नहुने समस्याले समितिको निर्देशन कार्यान्वयन हुन नसकेकाले त्यसलाई सच्याउनुपर्ने सुझाव दिनुभयो ।
वन व्यवस्थापनसँग वातावरणको साथै गरिबी न्यूनीकरणजस्ता कार्यक्रमलाई सँगसँगै लैजानुपर्छ भन्दै सदस्यहरुले समितिले दिएको निर्देशन मन्त्री र सरकारले नटेर्ने प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउनसक्ने रणनीतिक योजना बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।
उहाँहरुले भूकम्प प्रभावित क्षेत्रमा वातावरणले पारेको असरलाई पनि समितिले गम्भीररुपमा हेर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
बैठकमा सदस्यहरु कमला विश्वकर्मा, डा दुमनसिंह थापा, सूर्यप्रकाश बालाराई, हरि राजवंशी, सुशीला चौधरी, परशुराम तामाङ, लीला मगर, सीता ज्ञवालीलगायतले समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयगत र वातावरणसँग सम्बन्धित विषयवस्तुका बारेमा समितिलाई जानकारी गराउनुभएको थियो । रासस
No comments:
Post a Comment