Saturday, January 23, 2016

शङ्खरापुरका भूकम्पपीडितलाई आर्थिक सहयोग

काठमाडौँ, ९ माघ । हेम–सरिता पाठक फाउन्डेसनले शङ्खरापुर नगरपालिका–१२ घुमारचोकका १७ भूकम्पपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

फाउन्डेसनले घुमारचोकका भूकम्पपीडितका लागि भूकम्पपीडित आयमूलक आर्थिक सहयोगअन्तर्गत भैँसीपालन, बाख्रापालन, तरकारी खेती, बङ्गुरपालनका निम्ति प्रतिपरिवार रु एक लाख आर्थिक सहयोग गरेको हो ।

भूकम्पले भत्किएका उक्त चोकस्थित उग्रतारा माध्यमिक विद्यालयको भवनलाई फाउन्डेसनले करिब रु छ लाख खर्चमा पुनःसंरचना गरी आजै विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई साँचो हस्तान्तरण गरेको छ । गत वर्ष फाउन्डेसनले चारकोठे भवन निर्माण गरी सोही विद्यालयलाई हस्तान्तरण गरेको थियो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधव नेपालले आर्थिक सहयोग हस्तान्तरण गर्दै नेपालमा संविधान जारी भइसकेपछि भारतले लगाएको अघोषित नाकाबन्दी र तराईमा भइरहेको बन्द, हडताललाई जतिसक्दो चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष हेम पाठकले शङ्खरापुरमा रहेको तामाङ बस्तीलाई नमुना बस्तीको रूपमा विकास गर्ने फाउन्डेसनको उद्देश्य रहेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts