Thursday, January 21, 2016

व्यवस्थापिका संसद्को शून्य समय

काठमाडौँ ७ माघ । व्यवस्थापिका संसद्को आजको शून्य समयमा विभिन्न सांसदहरुले सार्वजनिक चासोका विषयहरु उठाउनुभयो ।

नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले नेपाल पत्रकार सङ्घका प्रथम सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापनाको तयारीमा रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको नाम राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमात्र कायम गर्ने वर्तमान सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सन्त नेता भट्टराईको नाम नहटाउन सरकारसँग आग्रह गर्नुभयो ।

विभिन्न पत्रपत्रिकामार्फत वर्तमान सरकारको उक्त निर्णय सार्वजनिक भएको भन्दै उहाँले त्यस्तो निर्णय फिर्ता हुनुपर्नेमा जोड दिनुभयो ।

सोही दलका आङटावा शेर्पाले निर्वाचित सांसदको क्षेत्रका बाटाघाटा प्राथमिकताकासाथ कालोपत्र गर्ने घोषणा गरिएको भएपनि त्यसो नभएको र रामेछापका भूकम्पपीडितले राहत नपाएको गुनासो गर्नुभयो ।

एनेकपा (माओवादी) का ओम्दी शेर्पाले प्रशासनिक संयन्त्रले काम नगर्दा सर्वसाधारणले दुःख पाए, ताप्लेजुङका पहिरो पीडितले आजसम्म सहयोग पाएनन्, जिल्ला अस्पतालको स्तरोन्नति होस् भन्ने धारणा राख्नुभयो ।

राप्रपा नेपालका कान्ता भट्टराईले कवितात्मक शैलीमा वर्तमान सरकारप्रति व्यङ्ग्य गर्नुभयो । नेपाली काँग्रेसका कमलप्रसाद पँगेनीले भूकम्पपीडितका समस्याबारे सदनमा धेरै बहस भएपनि स्याङजाका पीडितमाथि भेदभाव भएको र अघिल्लो सरकारले छुट्याएको रकम समेत नपुगेको भन्दै तत्काल राहतको माग गर्नुभयो ।

त्यसअघि, थरुहट तराई पार्टी नेपालका गोपाल दहितले संविधान जारी हुनुअघिदेखि जारी आदिवासी, थारु, जनजातिको आन्दोलन अहिले पनि अन्त्य नभएको र पटक–पटकका वार्ता सहमतिमा नपुगेकामा दुःख व्यक्त गर्दै परिणाममुखी वार्ताका लागि सरकारसँग आग्रह गर्नुभयो ।

प्रदेश सीमाङ्कन, समानुपातिक, समावेशी प्रतिनिधित्वका मुद्दालाई सम्बोधन गर्नैपर्ने र संविधानको धारा ४२ मात्र संशोधन गरेर अहिलेको आन्दोलन अन्त्य नहुने भन्दै उहाँले आफ्ना मागबमोजिम संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो ।

उहाँले तराई मधेस केन्द्रित छ दलले आजको बैठक बहिष्कार गर्ने घोषणा गरेपछि सांसद दहितसहितका सांसद सभाबाट बाहिरिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts