काठमाडौँ, ५ माघ । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले संविधानले सबैका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।
नेपाल अपाङ्ग सङ्घले खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ८८ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सीमान्तकृत, दलित, महिला, पिछडिएका समुदाय, अपाङ्गता भएका नागरिकलगायत सबैका अधिकारलाई संविधानमा संरक्षण गरी उनीहरुलाई देश विकासमा लाग्न पूर्ण अवसर प्रदान गरेको बताउनुभयो ।
उपप्रधानमन्त्री मैनालीले जनप्रतिनिधिले संविधान जारी गरेपछि बाह्य चासोका कारण देशमा गरिएको नाकाबन्दीले अर्थतन्त्रमा नराम्रो असर पारेको भए पनि सरकारले अपाङ्गताका क्षेत्रमा उपलब्ध गराएको आएको खर्चलाई निरन्तरता दिइने विचार व्यक्त गर्दै अपाङ्गता भएका मानिसलाई प्राथमिकतामा राखेर राष्ट्रिय नीति संशोधन गरिने जानकारी दिनुभयो ।
नेकपा (एमाले) का नेता एवम् सांसद रामेश्वर फुयाँलले अहिलेको संविधान अपाङ्गमैत्री भएको बताउँदै उनीहरुलाई रोजगारमूलक र व्यावसायिक शिक्षा उपलब्ध गराएर अब राष्ट्र निर्माणमा उनीहरुका अनुभवलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव शङ्करप्रसाद पाठकले अपाङ्ग मानिसलाई स्वरोजगार हुनका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँदै खगेन्द्रबहादुर बस्नेत अपाङ्ग भएर पनि सबैको अधिकार र समाजको विकासमा ठूलो योगदान पु¥याउनुभएको चर्चा गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष वीरेन्द्रराज पोखरेल, नेपाल अपाङ्ग सङ्घका महासचिव चूडामणि पौडेलले अपाङ्गमैत्री संरचना तथा समाज विकास हुन नसकेकाले त्यस क्षेत्रका मानिसलाई समस्या हुँदै आएको र पुनःनिर्माण प्राधिकरणले अब बनाउने संरचनालाई अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment