काठमाडौ, ८ माघ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको नामकरणका सम्बन्धमा सरकारले गर्ने निर्णयमा कुनै आग्रह वा पूर्वाग्रह नराखेको जनाएको छ ।
महासङ्घका केही पदाधिकारी तथा सदस्यले सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रतिष्ठान गठन गर्ने पूर्ववर्ती सरकारको निर्णयलाई वर्तमान सरकारले सच्याउन लागेको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएकामा नेतृत्वको सो धारणा आएको हो ।
प्रतिष्ठानको नामकरण र गठन प्रक्रियाबारे सूचना तथा सञ्चार मन्त्रालयले अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको छ ।
महासङ्घका महासचिव उजिर मगरले रासससँग कुरा गर्दै २४ औं महाधिवेशनपछिको नेतृत्वले पत्रकारलाई प्रशिक्षित बनाउन त्यस प्रकारको प्रतिष्ठानको आवश्यकता औल्याइएकाले नाममा भन्दा संस्था गठनमा चासो दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ पहिला पनि हामीले यस्तो वा उस्तो नाम राख भनेर भनेका थिएनौ, अहिले पनि केही भनेका छैनौं ।’’
उहाँले महासङ्घका केही पदाधिकारीको विज्ञप्ति कुनै आधिकारिक धारणा नभएको र त्यो लोकतान्त्रिक प्रक्रिया मिचेर दिइएको अभिव्यक्ति हो भन्नुभयो ।
महासङ्घका केही पदाधिकारी तथा सदस्यले आज एक विज्ञप्तिमार्फत पूर्व प्रधानमन्त्री भट्टराई महासङ्घको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आदर्शवादी राजनेता भएकाले यस्ता व्यक्तित्वको नाम हटाउने निर्णयले उहाँप्रतिको अपमानसमेत भएको जनाएको छ ।
महासङ्घका उपाध्यक्ष अनिता विन्दु, केन्द्रीय सदस्य माधव दुलाल, प्रकाश तिमल्सिना, शितल महतो र रञ्जना पौडेलले संयुक्त विज्ञप्ती निकाली प्रतिष्ठानबाट नेता भट्टराईको नाम हटाउन लागिएको प्रति आपत्ति जनाउनु भएको हो । रासस
No comments:
Post a Comment