काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा नै नेपालको संविधानको पहिलो संशोधनप्रति असन्तुष्टि जनाउँदै तराई–मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाउनुभयो ।
आफ्नो आसनबाट उठेर उहाँहरुले विरोध जनाउनुभएपछि सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरम नेपालका सांसद डा शिवजी यादवलाई बोल्ने समय दिनुभयो ।
उहाँले प्रमुख दलको सहमतिमा गरिएको नेपालको संविधानको पहिलो संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने बताउनुभयो ।
उहाँले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडा वर्गलाई कुनै अधिकार नदिने गरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको धारणा राख्नुभयो । संविधान संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने धारणा राख्दै सांसद यादवले प्रमुख तीन दल मुलुकले भोग्नुपरेको कष्टप्रति जिम्मेवार नभएको बताउनुभयो ।
उहाँले सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टीलगायतले सदनको आजको कारबाही बहिस्कार गर्ने बताउनुभयो ।
यस्तै सङ्घीय सद्भावना पार्टीकी सांसद् डिम्पलकुमारी झाले ठूला दलले बहुमतको बलमा अल्पसङ्ख्यकलाई पेलेको आरोप लगाउँदै बैठक बहिस्कार गर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment