Tuesday, January 19, 2016

वैशाखसम्म निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

भक्तपुर, ५ माघ । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यहाँबाट प्रकाशन हँुदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ वर्ष प्रवेश कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाडौँ–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग छलफल भइसकेकाले अब दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने ठोकुवा गर्नुभयो ।
साहसिक पर्यटनले मात्र देश विकास नहुने औल्याउँदै उहाँले धार्मिक र साँस्कृतिक पर्यटनलार्इ समेत मु्ख्य रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले सहमतिका लागि मोर्चासँगको वार्तामा सरकार अति नै लचक भए पनि जनताको प्राकृतिक र नैसर्गिक अधिकार कुण्ठित पार्ने प्रयास भएकाले आजसम्ममा हुन्छ भनिएको सहिमति हुन नसकेको भनाइ राख्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो–“सङ्घीय संरचनामा सिमानाको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न हुन्छ कि हुन्न भन्ने विषयमा मोर्चासँग अझै कुरा मिलेन, नेपालभित्रका जुनसुकै जनताले पनि उत्तरी छिमेकी सिमानासम्म र दक्षिणी सिमानासम्म जाने अधिकार हुनुपर्छ, त्यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार हो, त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ ।”

कार्यक्रममा नेकपा(एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको घर घरमा ग्यासको पाइप लाइन जोड्ने कुरालाई व्यङ्ग्य गरिए पनि सङ्कल्प लिएर अगाडि बढे प्रधानमन्त्रीले घोषणा गरेको सबै काम पूरा गर्न सकिने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, एमाले केन्द्रीय सदस्य सोम मिश्र, राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, प्रेस चौतारी नेपालका उपाध्यक्ष उपेन्द्र केसीलगायतले साना पत्रिकाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सो अवसरमा ‘गोरखापत्र’ दैनिकका फोटो पत्रकार शेखर चौलागाईँलाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts