Tuesday, February 23, 2016

अर्गानिक खेतीले फेरिएको जीवन

काठमाडौँ, १२ फागुन । पाँच वर्षअघि बझाङ पाराकाट्ना गाविसकी हेमन्तीदेवी सिंहको जीवन निकै कष्टपूर्ण थियो । आम्दानीको भरपर्दो स्रोत नहुँदा आधारभूत आवश्यकता पूरा गर्न पनि निकै हम्मे परेको उहाँको सम्झना छ ।

तर अहिले उहाँको जीवनमा निकै परिवर्तन भएको छ । पहिले खेतबारी भएर पनि त्यसको उपयोग गर्न नजान्दा पाएको दुःख अहिले सुखमा बदलिएको छ ।

पाँच वर्षअघि एक गैरसरकारी संस्थाले अर्गानिक रुपमा व्यावसायिकखेती गर्न तालिम दिएपछि उहाँको आम्दानीले जीवनका आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुगेको उहाँको भनाइ छ ।

सप्रोस नेपालको एक कार्यशालामा बझाङबाट पहिलो पल्ट काठमाडौँ आउनुभएकी उहाँ निकै हर्षित देखिनुुहुन्थ्यो ।
उहाँ भन्नुहुन्छ – “भएको खेतबारीको उपयोग गर्न नजान्दा चार महिना पनि राम्ररी खान पुग्दैनथ्यो तर अहिले व्यावसायिक रुपमा तरकारीखेती गरेर हामीले आफ्ना आवश्यकता पूरामात्र गरेका छैनौँ, बचत पनि गर्न थालेका छौँ ।”

उहाँमात्र होइन पाराकाट्ना गाविसकै नन्दादेवी सिंहको पनि अर्गानिक तरकारीखेतीले जीवनशैली फेरिएको छ । व्यावसायिक तरकारीखेतीबाट भएको आम्दानीले उहाँले आफ्ना चारजना छोराछोरीलाई पनि नियमित विद्यालय पठाउन सकेकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “पहिले आम्दानी केही नहँुदा बच्चालाई नियमित रुपमा विद्यालय पठाउन गाह्रो थियो तर अहिले उनीहरु नियमित विद्यालय जान थालेका छन् ।”

सप्रोस नेपालले अर्गानिक तरकारीखेती गर्न तालिम दिएपछि बझाङ पाराकाट्ना गाविसका धेरैको जीवनस्तरमा सुधार आएको बताउनुहन्छ नन्दादेवी ।

पहिले आम्दानीका लागि भारतमात्र भर पर्ने विष्णु विष्ट गाउँमै तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – ‘‘हामीले अर्गानिक रुपमा उत्पादन गरेको तरकारीखेती निकै स्वस्थ हुने भएकाले बजारीकरणको पनि समस्या छैन ।”

अहिले हरियो नेपाल निर्माणका लागि विभिन्न सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गरेका छन् ।

भएको प्राकृर्तिक स्रोतलाई संरक्षण गर्दै वन जङ्गल जोगाउन कार्यक्रम गर्न थालेको बताउनुहुन्छ सप्रोस नेपालका केदार पौडेल ।
वैकल्पिक ऊर्जाको स्रोत प्रयोग गर्ने, खेतबारीमा रसायनिक र विषादीको प्रयोग गर्ने बढ्दो चलनलाई विस्थापित गरी अर्गानिकखेतीलाई प्रोत्साहन गर्न थालेको पौडेलको भनाइ छ ।
भोलिका सन्ततिका लागि स्वच्छ वातावरण बचाउँदै स्वास्थ्यवद्र्धक खानपानको पनि बानी बसाल्न अर्गानिक खेतीलाई पनिसँगै अगाडि लान थालेको उहाँले उल्लेख गर्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts