कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको बाइसीविचवा गाविसलाई बुधबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
गाविसमा बसोबास गर्ने दुई हजार ८९३ परिवारले शौचालय निर्माण गरी प्रयोग गर्न थालेपछि खुला दिसामुक्त घोषणा गरिएको हो ।
गाविसलाई खुला दिसामुक्त घोषणा गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले शौचालयको प्रयोगलाई निरन्तरता दिनका लागि सचेतनाको कार्यलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
गाविसका सचिव दलबहादुर नेगीले दुई हजार ८९३ परिवारमध्ये दुई हजार ७७४ परिवारले पक्की शौचालय र ११९ परिवारले कच्ची शौचालय निर्माण गरी प्रयोग गर्दै आएको बताउनुभयो ।
“कच्ची शौचालयको प्रयोग गर्दै आएका बासिन्दालाई पक्की शौचालय निर्माण गर्नका लागि दबाब दिने कार्य गरिएको छ” – उहाँले भन्नुभयो ।
अमेरिकी सहयोग नियोग युएसआइडीको सहयोगमा सुआहारा र एनएनएसडब्लुए नामक गैरसरकारी संस्थाले शौचालय निर्माणका लागि विपन्न घरघुरीलाई १५७ थान पाइप र प्यान सेट उपलब्ध गराइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय महेन्द्रनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले चैत महिनाभित्रै कञ्चनपुर जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नका लागि कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । गाविसलाई खुला दिसामुक्त घोषणापछि सातबुँदे आचारसंहितासमेत लागू गरिएको छ । रासस
No comments:
Post a Comment