काठमाडौँ, ४ फागुन । संविधान जारी भइसकेपछिको अवस्थामा अब मुलुकको प्रमुख कार्यसूची आर्थिक समृद्धि हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीद्वारा लिखित पुस्तक ‘समृद्ध नेपाल’मा आधारित भएर आयोजना गरिएको ‘कसरी बन्छ समृद्ध नेपाल ?’ विषयक छलफल कार्यक्रममा वक्ताले अब देशलाई विकासको दिशातर्फ अगाडि बढाउन ढिलो गर्न नहुनेमा बताए ।
उनीहरुले अब राजनीतिक दलबीच हुने छलफल, वार्ता विकासको विषयमा केन्द्रित हुनेपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकलाई रुपान्तरण गर्दै युवालाई स्वेदशमै रोजगारीमा लगाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुस्तकमा सभापति अधिकारीले चीनमा देङ स्याओ पिङ्ले लिएजस्तै अवधारणामा जोड दिएको आफूले पाएको बताउँदै नेपालको भावी विकासको सन्दर्भमा पुस्तक केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले नेपालले छिमेकी चीन र भारतलाई समृद्धिको आधारको रुपमा उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले विकासको अवधारणा नै परिवर्तन भएको बताउँदै हिजोको गाउँ केन्द्रित विकाससँगै अब नगर केन्द्रित विकासमा जोड दिने बेला आएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले नेपालको आफूसँग रहेको रकम खर्च गर्नसक्ने क्षमता नभएकै कारण विकास हुन नसकेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष सुरज वैद्यले राजनीतिक दलले लिने चन्दाको पारदर्शिता हुनुपर्ने अन्यथा भ्रष्टाचार नरोकिने जिकिर गर्नुभयो ।
पुस्तकका लेखक तथा सभासद् अधिकारीले राजनीतिक दलहरुबीच हुने बैठक र छलफलमा एक प्रतिशत पनि विकासको विषय कार्यसूची नबन्ने गरेको बताउँदै त्यसलाई सच्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले विगतमा आफूले राजनीतिक लेख लेख्दा त्यसको चर्चा बढी हुने गरेको तर छिट्टै आझेलमा पर्ने गरेको स्मरण गर्दै आर्थिक विषयमा लेख्दा त्यो दिगो हुने गरेको अनुभव सुनाउनुभयो । रासस
No comments:
Post a Comment