काठमाडौँ, १४ फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक पानीमा धनी भए पनि व्यवस्थापनको अभावमा सोचेजति प्रगति गर्न नसकिएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तेस्रो केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उपत्यकाभित्र सहज रुपमा पानीको व्यवस्थापन गर्ने विषय असाध्यै महत्वपूर्ण भएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सार्थक पहल र प्रयत्नको खाँचो हुनुपर्नेमा जोड दिनु भयो ।
काठमाडौँवासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन निजी क्षेत्रकोसमेत संलग्नतामा लिमिटेडको स्थापना गरिएको भए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको गुनासो आइरहेकाले त्योभन्दा उच्चस्तरको निकाय निर्माण गर्नुपर्ने भए त्यसका लागि सरकारलाई आग्रह गरिने अध्यक्ष दाहालको भनाइ थियो ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध सहज दिशामा अगाडि बढ््नेतर्फ नै केन्द्रित रहेको उहाँको भनाइ थियो ।
खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना सम्पन्न नहुँदासम्म अल्पकालीन रुपमा योजना बनाएर खानेपानी आपूर्तिमा सरकार लागेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न सबै विकल्प अपनाएर काम गर्न सरोकार निकायसँग आफू छलफलमा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई, काठमाडौँ महानगरपलिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मोहनमान स्वारले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment