बागलुङ, १० फागुन । जिल्लाको अमरभूमिस्थित जनप्रेम उच्च माध्यमिक विद्यालयका विद्यार्थीले मतदानबाट वर्षको ‘सर्वोत्कृष्ट गुरु’ छनोट गरेका छन् ।
कक्षा ४ देखि १० सम्म पढ्ने २६४ विद्यार्थी मतदानमा सहभागी बनेको विद्यालयले जनाएको छ । कुल खसेको मतमध्ये ११६ मत ल्याएर मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्यालयको १०औँँ ‘सर्वोत्कृष्ट गुरु’ बन्न सफल हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी भीमकुमारी घर्तीले १०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत तथा अमर उच्च मावि बिहुँ स्रोतकेन्द्रका स्रोतव्यक्ति पूर्णप्रसाद ढुङ्गानाका अनुसार ‘सर्वोत्कृष्ट गुरु’ का उम्मेदवार शिक्षक राजुप्रसाद अधिकारीले २० र स्वस्तीका शर्माले १९ मत प्राप्त गर्नुभएको थियो । कुल खसेको मतमध्ये एक मत बदर भएको अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।
यो वर्षको ‘सर्वोत्कृष्ट गुरु’ बन्न सफल गौतम जिल्लाको हरिचौर गाविसका बासिन्दा हुनुहुन्छ । गौतमले विगत दुई दशकदेखि जनप्रेम उच्च माविमा अध्यापन गराउँदै आउनुभएको छ । उहाँले आफ्नो मेहनतलाई विद्यार्र्थीले मूल्याङ्कन गरेको प्रतिक्रिया दिनुभयो । “कक्षा कोठाभित्रको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउन यसले प्रेरित गरेको छ, जिम्मेवारी थपिएको महसुस गरेको छु” – शिक्षक गौतमले भन्नुभयो ।
विद्यार्थीलाई बुझाउन सक्ने क्षमता, विद्यार्थीको जिज्ञासाको उचित सुनुवाइ गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, नियमित विद्यालय आउने, समयको पालना गर्ने, नियमित पोसाक लगाउने आधारमा छनोट समितिले मनोनयन गरेका चारजना शिक्षकलाई विद्यार्थीले गोप्य मतदान गरेका थिए ।
छनोट समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्ती, प्रधानाध्यापक नइन्द्रबहादुर गुरुङ, महिला प्रतिनिधि जमुना विक, सहायक प्रधानाध्यापक टेकबहादुर पुन र बाबुराम पौडेल रहनुभएको थियो । समितिले तोकिएको प्रक्रियाअनुसार मनोनयन गरेका सर्वोत्कृष्ट गुरुका चारजना प्रत्यासीको नाम उल्लेख गरिएको मतपत्र तयार गरी मतदान गराइएको थियो ।
शिक्षकलाई शिक्षण सिकाइप्रति उत्तरदायी बनाउन २०६२ सालदेखि विद्यालयमा ‘सर्वोत्कृष्ट गुरु’ छनोट गर्दै आएको विद्यालयका प्रधानाध्यापक गुरुङले बताउनुभयो । विद्यालयमा निभाउनुपर्ने भूमिकाप्रति शिक्षकको सक्रियता बढाउन यस्तो अभियान सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घर्तीले बताउनुभयोे ।
कार्यक्रमले विद्यार्थीलाई मताधिकारको अभ्यास गर्नसमेत सिकाउने प्रधानाध्यापक गुरुङको भनाइ छ । मतदान अधिकृत एवम् स्रोत व्यक्ति ढुङ्गानाले मतदान प्रक्रियाले शिक्षकलाई विद्यार्थीप्रति उत्तरदायी बनाएको बताउनुभयो । उहाँले यस्तो अभ्यास ‘नमुना’ भएको भन्दै अरु विद्यालयमा पनि अनुशरणयोग्य रहेको उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment