Wednesday, February 24, 2016

धामीझाँक्रीले बिरामीलाई स्वास्थ्यसंस्था पठाउन थाले

बाबियाचौर (म्याग्दी), १३ फागुन । म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाउन थालेका छन् ।

स्वास्थ्य सेवाको ग्रामीण तहसम्म पहुँच बढ्नुका साथै चेतनामूलक कार्यक्रममा सहभागीतापछि धामीझाँक्रीले गर्ने उपचार विधिमा परिवर्तन आउन थालेको हो । पहिले पहिले सकेसम्म आफैँले रोग निको पार्ने दाबी गर्ने उनीहरु पछिल्लो समय कडा किसिमका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेका छन् ।

जटिल किसिमका स्वास्थ्य समस्या भएका बिरामीलाई अल्झाउँदा ज्यानै जानसक्ने खतरासमेत हुने भएकाले तत्कालै स्वास्थ्य संस्थामा पठाउन थालेको विगत १० वर्षदेखि झारफुकको काम गर्दै आएका बेनी कालीपुल नजिकैको पर्वतबगरका खेम परियारले बताउनुभयो ।

आफूले जानेको कुरा गर्ने र जोखिम मोलेर उपचार गर्नुभन्दा अस्पतालमा जान सुझाव दिने गरेको बेनीका धामी जैमान घर्तीले बताउनुभयो । ज्वरो आउने, टाउको दुख्ने, मुटु दुख्ने, ग्यास्ट्रिक रोगीदेखि बालबच्चाले खाना नखाने, झगडा गर्नेजस्ता समस्या भएकाहरु पनि झारफुक गर्न आउने गरेको बेनी मङ्गलाघाटकी धामी मनमाया बुढाथोकीले बताउनुभयो । झारफुक गराउन दैनिक पाँच÷सातजना बिरामी आउने उहाँले बताउनुभयो ।

विगतमा बिरामीको स्वास्थ्यमाथि जोखिम मोलेपनि अहिले गाउँ गाउँमा स्वास्थ्य संस्था खुलेकाले धामीझाँक्रीलाई पनि सजिलो भएको छ । स्वास्थ्यसम्बन्धी संवेदनशीलता बुझ्दैगएपछि आफूलाई विश्वास गरेर आउने बिरामीलाई मानसिक रुपमा सक्षम बनाउन र सान्त्वना दिन फाक्फुक पार्ने र अस्पताल जान सल्लाह दिने गरेको मङ्गलाघाटकी खबीसरा पुनले बताउनुभयो ।

शिक्षित र जानेबुझेका मानिससमेत धामीझाँक्रीकहाँ जाने गरेको पाइएपछि स्वास्थ्य कार्यालय, मिलन म्याग्दी र सुआहारा परियोजनाले उनीहरुसँगै सहकार्य गरेर अन्धविश्वास हटाउने प्रयास थालेका थिए ।

बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) अन्तर्गत म्याग्दीका विभिन्न गाविसमा रहेका धामीझाँक्रीलाई एकीकृत पोषण, मातृ शिशु स्याहारसँगै आधुनिक उपचार पद्धतिको बारेमा तालिम दिइएको सुआहारा परियोजनाका जिल्ला संयोजक पासाङदोर्जी तामाङले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts