Sunday, February 21, 2016

तरकारीमा रु चौबिस लाख अनुदान

बागलुङ, ९ फागुन । तरकारी खेतीलाई व्यावसायिक बनाएका जिल्लाका ६० युवा किसानले यो वर्ष रु २४ लाख अनुदान पाएका छन् ।

युवालक्षित व्यावसायिक तरकारी खेती कार्यक्रमबाट युवाले लाभ उठाएका हुन् । सरकारले अनुदान दिन थालेपछि युवा व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कृषि उद्यममा लागेर स्वरोजगार बन्न चाहने १८ देखि ४५ वर्षका युवाले अनुदान पाएका हुन् । हिउँदे र बर्खे दुबै याम गरी पाँच÷पाँच रोपनीमा तरकारी बाली लगाउने युवा किसानले अनुदान पाएको वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनुभयो ।

“व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका, अनुभव भएका, विदेशबाट फर्केकालाई प्राथमिकता दिएको छौँ” उहाँले भन्नुभयो । सेवा केन्द्रको सिफारिस, अनुभव र अन्य कार्य मूल्याङ्कनका आधारमा उनीहरु छानिएका हुन् भने जनही रु ४० हजार अनुदान दिइने छ । अनुदान पाउने रकममध्ये पहिलो किस्ता रु २० हजार उपलब्ध गराइएको छ ।

अनुदानका लागि व्यक्ति, समूह र सहकारी पनि छनोट भएका छन् । युवाले चलाएका कृषि सहकारी र कृषि समूह पनि तरकारी खेती कार्यक्रमका लागि छानिएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts