भक्तपुर, २६ फागुन । जिल्ला विकास समिति भक्तपुरले जिल्लामा ख्वप विश्वविद्यालय स्थापनार्थ पहल गर्ने भएको छ ।
जिल्लालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न विश्वविद्यालयको आवश्यकता महसुस गर्दै जिविसले ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो ।
जिविसको २८ औँ नगरपरिषद्ले ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यसअघि ख्वप विश्वविद्यालय स्थापनाका लागि भक्तपुर नगरपालिकाले पहल गर्दै आइरहेको थियो । विशेषगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को एजेन्डाका रुपमा रहेको ख्वप विश्वविद्यालयलाई भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालन गर्न स्वीकृतिका लागि नपा र नेमकिपाले लामो समयदेखि प्रयास गरिरहेको छ । तर सरकारले विश्वविद्यालय सञ्चालनको अनुमति प्रदान गरेको छैन ।
मुलुककै नमुनाको रुपमा ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेजलगायत विभिन्न शैक्षिक संस्था सफलतापूर्वक सञ्चालन गरिरहेको भक्तपुर नपाले ती सबै शैक्षिक निकायलाई गाभेर विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको हो ।
विश्वविद्यालयको विधानसमेत तयार भई संसद्को विधान समितिमा दर्ता भएको समेत लामो समय भइसकेको छ । परिषद्को निर्णयसँगै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने सरोकारवालाले बताएका छन् ।
परिषद्ले विश्वविद्यालय स्थापनाका लागि सार्वजनिक, निजी साझेदारीको अवधारणाअनुसार काम गर्ने निर्णय गरेको कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक, निजी साझेदारीको अवधारणाअनुसार सरकारी तथा निजी शैक्षिक संस्थाको शैक्षिक गुणस्तरमा अभिवृद्धि गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै जिल्लालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापनाका लागि पहल गरिनेछ ।”
परिषद्ले आव २०७३÷७४ मा जिल्लाको शैक्षिक क्षेत्रका लागि रु ६५ करोड सात लाख ८९ हजारको बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी कोइरालाले जानकारी दिनुभयो । परिषद्को निर्णयमा जिल्लाको शैक्षिक विकासका लागि चार वटा बुँदा समावेश गरिएको छ ।
जिविसले भक्तपुरको शैक्षिक अवस्था उकास्नका लागि विद्यालयभित्र पुस्तकालय स्थापना, सिकाइमा इ–लर्निङ तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने, गुणस्तरीय शिक्षाका लागि सौर्य विद्युतीय सञ्चितिको उपयोगका लागि सहयोग गर्ने र जिल्लाका एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने योजना समावेश गरिएको छ । रासस
No comments:
Post a Comment