बेइजिङ, १० चैत । संविधान निर्माणपछि साताव्यापी चीनको प्रथम औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा मङ्गलबार साँझ बेइजिङस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना ग¥यो ।
सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सांसदहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, परराष्ट्र मन्त्रालयका उच्चपदाधिकारी तथा विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, चिनिँया एवम् विदेशी सञ्चारमाध्यमका पत्रकारको उपस्थिति थियो ।
सो अवसरमा भएको पत्रकारसम्मेलनमा प्रधानमन्त्री ओलीले चिनियाँ तथा नेपाली पत्रकारको प्रतिउत्तरमा नेपाल एसियाली पूर्वाधार बैंकको सदस्य भएकाले सो बैंकको क्षमतालाई नेपालले पनि पूर्ण उपयोग गरी नेपालमा पूर्वाधारको निर्माण गर्ने बताउनुभयो ।
नेपालमा पर्यटनको सम्भावनावारे एक चिनियाँ पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक रुपमा सुन्दर, हिमशिखर, ताल र नदीको देश भएको र हामी नेपाली हिन्दू र बौद्ध दुवै धर्मका अनुयायीका लागि पनि आस्थाको केन्द्रविन्दु भएको उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँ धेरै धनी भइसकेकाले उनीहरु बुद्धको जन्मस्थल लुम्बिनीमा सजिलै भ्रमण गर्न सक्ने पनि बताउनुभयो । भ्रमणका क्रममा पारवहन यातायात सम्झौता हुनु ठूलो र ऐतिहासिक उपलब्धि र समयको माग भएकाले यसबाट नेपालको भूपरिवेष्ठित परिस्थितिमा लाभ हुने र यो सम्झौता कसैप्रति लक्षित नभएको उल्लेख गर्दै उहाँले हाम्रो यो इमान्दार प्रयास मात्र हो र हामी कुनै राष्ट्रविरुद्ध अर्काे कुनै राष्ट्रको कार्ड प्रयोग गर्ने पक्षमा छैनौँ भन्नुभयो ।
उहाँले भूकम्पपछिको पुनर्निर्माणमा तदारुकताका साथ लाग्दै र मित्रराष्ट्रबाट प्राप्त सहयोग सदुपयोग पनि गर्छाैं भन्नुभयो । सोही कार्यक्रममा राजदूत डा महेश मास्केले प्रम ओली लगायतका टोलीलाई स्वागत गर्दै भ्रमण नेपालको दीर्घकालीन हितमा हुने बताउनुभयो । तीर्थ भटृराई/रासस
No comments:
Post a Comment