चितवन, २३ फागुन । पूर्वप्रधानमन्त्री एवम् एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकाले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
भरतपुर उपमहानगरपालिका–२७, पटिहानीमा आजदेखि सुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेल जगतले ठूलो भूमिका खेल्ने गरेको बताउनुभयो ।
उहाँले खेलले नै विदेशीसँगको भाइचारालाई बढाउने र सम्बन्ध चिस्सिएका छिमेकीसँग समेत सम्बन्ध सुमधुर बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा भारतको चर्चित क्लब बिएमडब्लु दिल्ली, बङ्गलादेशको बङ्गलादेश वाटर एन्ड पावर रिसोर्सेज र भुटानको साम्चे भलिबल क्लबको सहभागिता रहेको छ ।
त्यसैगरी नेपालका नेपाल पुलिस क्लब, नेपाली आर्मी क्लब र एपिएफले प्रतियोगितामा सहभागिता जनाएका छन् । विदेशी टिममा भर्खरै भारतमा सम्पन्न साग गेम्स खेलेका भलिबल खेलाडीसमेत रहने आयोजक पद्मोदय युवा क्लबले जनाएको छ ।
कुल ६ टिम सहभागी प्रतियोगिता आगामी फागुन २६ गतेसम्म चल्नेछ । चार दिनको अवधिमा कुल १० वटा म्याच खेलाइनेछन् । प्रतियोगिताको विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु एक लाख र तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार पाउनेछन् ।
खेल सञ्चालनका लागि रु २७ लाख खर्च हुने मूल आयोजक समितिका संयोजक रामहरि सेढाईंले बताउनुभयो ।
सो अवसरमा खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाललाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो भने भलिबल खेलका लागि सहयोग गर्ने विमलसिंह ठकुरीलाई नेपाल भलिबल सङ्घद्वारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल जारी छ भने दोस्रो खेल नेपाल पुलिस क्लब र बङ्गलादेश वाटर एन्ड पावर रिसोर्सेजबीच हुनेछ । रासस
No comments:
Post a Comment