नवलपरासी, २५ फागुन । नवलपरासीमा मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक मेला सकिएको छ । गत फागुन १५ गतेदेखि जारी धार्मिक मेला आजबाट सकिएको हो ।
मदारबाबा धार्मिक मेलामा यस वर्ष नेपाल र भारतका गरी करिब १५ लाख दर्शनार्थी आएको आयोजकले दाबी गरेका छन् जसमध्ये नेपालको तुलनामा ९० प्रतिशत बढी भारतीय दर्शनार्थी आएका थिए ।
मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्रतर्फ दुम्किबास डाँडामा रहेको छ । मेलामा आउने श्रद्धालुले बाबाको मुख्यस्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विस्वास छ ।
पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि निकै कठिन परिश्रमबाट मात्र मदारबाबाको मुख्यस्थल पुग्न सकिन्छ ।
करिब एक सय वर्षअघिदेखि मेला निरन्तर लाग्दै आएको छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध रहेको छ ।
वन क्षेत्रमा डढेलोको सम्भावना
यसैबीच, नवलपरासीमा गत वर्षभन्दा यस वर्ष समयमै वर्षा नभएसँगै लामो खडेरीले वन क्षेत्रमा डढेलोको सम्भावना बढेको जिल्ला वन कार्यालयले जनाएको छ ।
भूकम्पपछि जलवायु परिवर्तन तथा अन्य विभिन्न कारणले गर्दा थोरै वर्षा भएसँगै वन क्षेत्रमा डढेलोको सम्भावना बढेको जिल्ला वन अधिकृत दुर्गाबहादुर कार्कीले बताउनुभयो ।
जिल्लामा पहाडी क्षेत्रमा खोरिया फँडानी तथा तराई तथा भित्री मधेसमा लामो राजमार्गकै कारण वन क्षेत्रमा आगलागी हुने गरेको वन अधिकृत कार्कीले जानकारी दिनुभयो ।
एक लाख ११ हजार हेक्टर वन क्षेत्र रहेको यस जिल्लामा विशेष गरी राष्ट्रिय वनमा बढी मात्रामा आगलागी हुने गरेको छ ।
जिल्लामा गत वर्ष कति क्षेत्रमा डढेलो लागेको थियो भन्नेबारे तथ्याङ्क नभए पनि ठूलो वन क्षेत्रमा आगलागी भएको थियो । डढेलोको जोखिम बढे पछि अहिले विभिन्न क्षेत्रमा वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र डढेलो लागेको अवस्थामा नियन्त्रण गर्दा अपनाउनुपर्ने विधिबारे वन कार्यालयले वन डढेलो व्यवस्थापन सप्ताह सञ्चालन गरिसकेको छ । रासस
No comments:
Post a Comment