लहान, १० चैत । अवैध रुपमा सिरहाको कमलाबाट ढुङ्गा ओसार्ने पाँचवटा ट्याक्टरलाई प्रहरीले आज बिहान सिरहाको बन्दीपुरबाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले सिरहाको बडहरामाल बल्टिया–१ स्थित कमला नदीबाट अवैध रुपमा ढुङ्गा उत्खनन गरी लगिरहेको अवस्थामा ज१त ७५००, ज१त६७८५, ज१त६९४१, ज१त ७१९८ र ज१त१७४५ नम्बरका गरी पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ट्याक्टरलाई पुनः उत्खनन नगर्ने सर्तमा एक पटकलाई कागज गराई ढुङ्गा अनलोड गरी छाडिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकखण्ड बाटोे छेउमा लुकाई छिपाई राखेको अवस्थामा गएराति १८ किलो अवैध सुपाडी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा राखिएको करिब रु चार लाख ६८ हजार मूल्य बराबरको १८ किलो सुपाडी बरामद गरेको हो । बरामद भएको सुपाडी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडर सिरहा पठाइने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment