गोरखा २४ फागुन । कम्मरमुनिको भाग नचल्ने समस्याले थलिएकी गोरखाको ताङ्लीचोक गाविस–९ भलायोडाँडाकी ६२ वर्षीय मुसीमाया चेपाङ परिवारको माया र सहाराको खोजीमा छिन् ।
कम्मरदेखि तलका भाग नचल्ने भएपछि एक ठाउँबाट अर्को ठाउँसम्म उनी घिस्रिएर पुग्छिन् । जन्मजात पूर्ण अपाङ्गता भएकी मुसिमायालाई सरकारले भने निलो रङ्गको अपाङ्गता परिचयपत्र दिएको छ ।
उनको विवाह भएको छैन । तर एउटा सन्तान जन्माएकी छिन् । ३२ वर्षको उमेरमा एक आफन्तबाट बलात्कृत हुँदा उनले छोरी जन्माएकी छिमेकीको भनाइ छ । उनकी छोरी रश्मी विवाह गरेर अन्यत्रै गएको धेरै वर्ष बितिसक्यो । आमा बाबु बितेपछि मुसिमाया पनि छोरीको घरमा बस्दै आएकी छिन् ।
‘आमा बाबु बिते, भदा, भदैनीले पालेनन्’ रश्मीले भनिन्, ‘आमाको स्याहारसुसार मैले नै गर्दैआएको छु ।’ अपाङ्गता भएकी आमालाई घरमा ल्याएको भन्दै श्रीमानले कचकच गरेको रश्मीले सुनाइन् । ‘बेसाहरा आमालाई अन्यत्र लगेर छाड्न पनि सक्दिन’ उनले भनिन्, ‘घरमा राखाँैं भने पनि श्रीमानले रुचाउँदैनन् ।’ २०६६ सालमा आमालाई बोकेर सदरमुकाम पु¥याई अपाङ्गता भएको कार्ड बनाएको स्मरण गर्दै उनले भनिन्, ‘जन्मपात अपाङ्गलाई पनि निलो कार्ड पो दिएछन् ।
मुिसमायाले अहिले एकल महिलाले पाउने मासिक रु ५०० भत्ता बुझ्दै आएकी छिन् । पूर्ण अपाङ्गता भएकालाई सरकारले मासिक रु एक हजार भत्ता दिने व्यवस्था गरेको छ । गाविस सचिव सूर्य बरालले पूर्ण अपाङ्गता भएकी चेपाङलाई रातो कार्ड बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘यथासक्य छिटो रातो कार्ड बनाउन पहल गछौंँ’ बरालले भन्नुभयो । गोरखाको पाँच गाविसमा चेपाङ्गको बाक्लो बसोवास छ । विपन्न वर्गका उनीहरुको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पहुँच भने कम छ । रासस
No comments:
Post a Comment