Friday, March 25, 2016

साङ्सीका व्यापारीलाई नेपालमा लगानी गर्न प्रम ओलीद्वारा आह्वान

साङ्सी (चीन), १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको साङ्सी प्रान्त र सियान सहरका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

शुक्रबार यहाँको साङ्ग्रिला होटलमा सिसिपिआइटीको साङ्सी उपपरिषद्का अध्यक्ष झाओ रुनमिनले संयोजन गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको बताउनुभयो ।

प्रम ओलीले भन्नुभयो – “साङ्सी प्रान्तको राजधानी सियान प्राचीन रेशम मार्गको उद्गम स्थल हो । अहिले यसको आधुनिकीकरण गर्न यही जन्मनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङले नेतृत्व गर्नुभएको ‘एक क्षेत्र एक मार्ग’ अभियानबाट नेपाल पनि लाभान्वित हुन चाहेको छ ।”

यस क्षेत्रले एसियालाई अफ्रिका र युरोपसँग जोड्दै आएको र अन्तर्राष्ट्रिय व्यापारलाई आधुनिकीकरण गर्न सघाउँदै आएको बताउँदै उहाँले चिनियाँ समुदाय र व्यापारीबीच यस विषयमा विचार आदानप्रदान गर्न पाएर आफू खुसी भएको बताउनुभयो ।

नेपाल र चीनबीच युगौँ पुरानो सम्बन्ध रहेको र दुईबीच कुनै समस्या नभएको पनि उहाँले उल्लेख गर्नुभयो । “चीनको प्रगतिबाट हामी ज्यादै खुसी छौँ, हामी यसबाट लाभ लिन चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा उदार अर्थतन्त्र भएको, कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल बनाइएको, लाभांशमा आयकर नलाग्ने व्यवस्था गरिएको र दुवैतर्फका छिमेकमा ठूला बजार विद्यमान रहेकाले नेपालमा लगानी गरेर व्यवसायीले फाइदा उठाउन सक्छन् भन्नुभयो ।

“हामी वाह्य लगानीको पूर्ण सुरक्षा गर्छौं,”ं उहाँले भन्नुभयो । अमेरिकी बजारमा समेत ६० वटा नेपाली वस्तुलाई कर र कोटारहित सुविधा प्राप्त भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालमा जलविद्युत्, यातायात जस्ता पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्ने प्रचुर सम्भावना भएको र नेपालमा उत्पादित सामान दक्षिण एसियाकै बजारमा पु¥याउन सकिने बताउनुभयो ।

साङ्सी प्रान्तीय विकास तथा सुधार आयोगका निर्देशक झाङ जियाङवोले नेपाल र सियानका व्यापारीबीच सियानमा पनि संयुक्त लगानीबाट काम थाल्न सकिने सम्भावनालाई आँैल्याउनुभयो ।

सो अन्तक्र्रियात्मक कार्यक्रममा साङ्सी प्रान्तका चिनियाँ जनराजनीतिक सम्मेलनका उपाध्यक्ष झाङ सियाओमिङ पनि उपस्थित हुनुहुन्थ्यो । तीर्थ भट्टराई/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts