बर्दिवास, १६ चैत । सिँचाइमन्त्री उमेशकुमार यादवले दुई नम्बर प्रदेशका सूचना मैथिली र भोजपुरी भाषामा प्रवाह गर्न आफ्नो मातहतका सरकारी कार्यालयलाई निर्देशन दिनुभएको छ ।
सोमबार महोत्तरी जिल्लाको बिग्ही सिँचाइ आयोजनाको स्थलगत अनुगमनपछि सिँचाइ डिभिजन कार्यालय जलेश्वरमा आयोजित कार्यक्रममा मन्त्री यादवले मातहत कार्यालयलाई त्यस्तो निर्देशन दिनुभएको हो ।
जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय, सिँचाइ डिभिजन कार्यालय, भूमिगत सिँचाइ कार्यालय र जनकपुरस्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका अधिकारी, किसान सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले त्यस्तो निर्देशन दिनुभएको हो ।
यसअघि छ महिना आन्दोलन गरेर फेरि आन्दोलनको तयारीमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भाषिक विविधता र प्रयोगलाई संवैधानिकरुपमै सुनिश्चित गर्न माग गरिरहेको बेला वर्तमान सरकारका सदस्य मन्त्री यादवले दिनुभएको निर्देशन उपयुक्त रहेको सहभागीले प्रतिक्रिया दिएका छन् ।
संविधानमा मुलुकमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनिए पनि व्यवहारमा नेपालीबाहेक अरु भाषा सरकारी कामकाजमा प्रयोग नभएको अवस्था हटाउन मन्त्री यादवको निर्देशन भएको एकीकृत नेकपा (माओवादी)का जिल्ला इञ्चार्ज राजु खड्काले बताउनुभयो ।
मन्त्री यादवले सिचाइसँग सम्बन्धित सूचना तथा जानकारीलाई दुई नम्बर प्रदेशका पूर्वी जिल्लामा मैथिली र पश्चिमी जिल्लामा भोजपुरी भाषामा प्रकाशन एवम् प्रसारण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
सिँचाइ कार्यालयबाट पाइने सुविधा, माग फारम तथा अन्य फारम कहाँबाट प्राप्त गर्नेजस्ता अत्यावश्यक कुरालाई सबैले बुझ्ने भाषामा सूचना प्रकाशन गर्न उहाँले निर्देशन दिनुभएको हो । रासस
No comments:
Post a Comment