खोटाङ, २५ फागुन । घर आगलागी हुँदा खोटाङमा नगद रु पाँच लाखसहित रु १५ लाख बढीको क्षति भएको छ ।
जिल्लाको पश्चिमी गाविस महादेवस्थान–४ हलेसीका दलबहादुर बस्नेतका दुईवटा घर तथा घरमा राखिएको नगद रु पाँच लाखसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको हो ।
सोमबार दिउँसो घरनजिकै बालेको आगोको झिल्को हावाले उडाएर छानामा पु¥याउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । आगलागीमा नगद रु पाँच लाख, एउटा खसी, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, काठपातलगायत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी सुरु भएलगत्तै इलाका प्रहरी कार्यालय हलेसीका टोली तथा शेरगण मुढे ब्यारेकका सेना र स्थानीयवासी घटनास्थल पुगेपनि पानी नहुँदा तत्काल आगो निभाउन नसकिएको स्थानीयवासीले बताएका छन् । उद्धार टोली तत्कालै घटनास्थलमा पुगेकाले अन्य घरमा आगो फैलन भने नपाएको स्थानीयवासीले बताएका छन् ।
आगलागीमा घरविहीन भएका छजनाको बस्नेत परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।
सेनाको स्वास्थ्य शिविरमा
यसैबीच, नेपाली सेनाले हलेसीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना बिरामीको उपचार गरिएको छ ।
शेरगण मुढे ब्यारेकले शिवरात्रीको अवसर पारेर सोमबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना बिरामीको उपचार गरिएको हो ।
शिवरात्रीको अवसरमा हलेसी आउने दर्शनार्थीलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य शिविरमा ८३ जना महिला, ७४ जना पुरुष, ३५ जना वृद्धा र ११ जना बालबालिकाको उपचार गरिएको ब्यारेकका प्रमुख सेनानी मदन न्यौपानेले बताउनुभयो । एकदिने स्वास्थ्य शिविरका लागि सेनानी राजु प्याकुरेलको नेतृत्वमा २५ जनाको टोली खटाइएको न्यौपानेले जानकारी दिनुभयो ।
शिविर सञ्चालनका लागि हलेसी पुगेको सेनाको टोलीले मन्दिर परिसर सरसफाइ गर्नुका साथै भक्तजन मन्दिर प्रवेशमा सहयोग गरेको जनाइएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा शिवरात्रीमा हप्तादिनसम्म मेला लाग्ने गरेको छ । हिन्दू, वौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलङ्का, कोरियालगायतबाट दर्शनार्थी आउने गरेका छन् । रासस
No comments:
Post a Comment