काठमाडौँ, १४ चैत । यही चैत २५ गते हुने साझा प्रकाशनको २३औँ साधारणसभामा सञ्चालक समितिका सदस्यमा चार जनाको उम्मेदवारी परेको छ ।
अंशियारतर्फका तीन सदस्यका लागि हुने निर्वाचनका लागि हरिहर खनाल, डा विजय सुब्बा, जीवनचन्द्र कोइराला र मनोहर लामिछानेको उम्मेदवारी परेको हो । यसअघि स्थगन हुनुपूर्व परेका ती उम्मेदवारीलाई नै निर्वाचन समितिले मान्यता दिएको हो ।
साधारणसभाको तयारी भइरहेको र उम्मेदवारहरू देशव्यापी प्रचार कार्यमा जुटेको अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । साधारणसभामा करिब एक हजार पाँच सय सदस्यले भाग लिनेछन् । ‘साझा बचाऔँ अभियान’का खनाल, सुब्बा र कोइरालालाई तीन प्रमुख दल निकट साहित्यिक मोर्चाले समर्थन गरेका छन् ।
नेपाली लेखक सङ्घका डा विष्णुविभु घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका आहुतिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी तीन उम्मेदवारलाई आफूहरुको समर्थन रहने जनाउनुभएको छ ।
साधारणसभा संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा हुनेछ । यसअघि गत असोज १६ गते तय भएको साधारणसभा रोक्न सहकारी विकास बोर्डले पुनरावेदन अदालत, पाटनमा निवेदन दिएपछि सभा स्थगन भएको थियो । अदालतको आदेशबाट संस्थाको व्यवस्थापन वैध रहेको र यसले सभा गर्न सक्ने भनी बाटो खुलेपछि सभाको नयाँ मिति तय गरिएको हो । रासस
No comments:
Post a Comment